प्रमाणमा आधारित अनुसन्धानले परराष्ट्र नीतिलाई सुदृढ बनाउन भूमिका खेल्छ : परराष्ट्रमन्त्री

हिमाल प्रेस २७ साउन २०८३ २०:४४ | Wednesday, August 12, 2026
6
SHARES
प्रमाणमा आधारित अनुसन्धानले परराष्ट्र नीतिलाई सुदृढ बनाउन भूमिका खेल्छ : परराष्ट्रमन्त्री

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रमाणमा आधारित अनुसन्धान र सुसूचित सार्वजनिक बहसले नेपालको परराष्ट्र नीतिलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित ‘समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम २०२६’ को समापन कार्यक्रम तथा अनुसन्धान सार्वजनिकीकरण सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री खनालले युवा अनुसन्धानकर्ताहरूलाई विश्वव्यापी घटनाक्रमप्रति सजग रहन र राष्ट्रको कूटनीतिक अभ्यास तथा नीति निर्माणमा सक्रिय योगदान पुर्‍याउन आग्रह गरे।

परराष्ट्र मन्त्रालयको आयोजना तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संयोजनमा जुनको मध्यदेखि अगस्त मध्यसम्म सञ्चालन भएको आठ सप्ताहको नीतिगत अनुसन्धान पहलमा १० जना फेलो र १० जना इन्टर्नहरू सहभागी थिए।

प्रतिष्ठानका अनुसार सहभागीहरूले रणनीतिक मामिला तथा सार्वजनिक अन्तर्राष्ट्रिय कानुन, विकास तथा वित्त, उदयीमान प्रविधि, स्वच्छ ऊर्जा र नेपाली डायस्पोरा सम्बन्धी क्षेत्रहरूमा नीति उन्मुख सञ्चालन गरेका थिए।

प्रतिष्ठानकी कार्यकारी निर्देशक रोजिना ताम्राकारले यस कार्यक्रमको उद्देश्य शैक्षिक अनुसन्धान र नीतिगत अभ्यासबीचको दूरी घटाउनु रहेको बताइन्।

उनले सहभागीहरूका अनुसन्धान निष्कर्षलाई नीति निर्माताहरूका लागि व्यावहारिक स्रोतका रूपमा रुपान्तरण गर्नुको महत्वमा जोड दिइन्।

अनुसन्धान सार्वजनिकीकरण तथा प्रदर्शनी सत्रमा सहभागीहरूले परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा आफ्ना निष्कर्ष तथा सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा सांसद, मन्त्रालयका वरिष्ठ अधिकारी, नेपालका लागि बेलायती राजदूत, कूटनीतिक नियोगका प्रतिनिधि तथा अनुसन्धान संस्था र विकास साझदारका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २७ साउन २०८३ २०:४४ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast