भारतीय तरकारी आयातमा कडाइपछि नेपालगन्जमा स्थानीय उत्पादनको माग बढ्यो

हिमाल प्रेस २७ साउन २०८३ १७:१५ | Wednesday, August 12, 2026
12
SHARES
भारतीय तरकारी आयातमा कडाइपछि नेपालगन्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा (बाँके)- भारतबाट आयात हुने सागसब्जीमा कडाइ भएपछि नेपालगन्जमा स्थानीय किसानले उत्पादन गरेका कृषिउपजको माग बढेको छ।

भारतीय उत्पादनसँग मूल्यमा प्रतिस्पर्धा गर्न कठिनाइ भोग्दै आएका स्थानीय किसानले आयातमा कडाइ भएपछि आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्।

भारतीय सागसब्जीको आयातमा भन्सारमा कडाइ गरिएपछि नेपालगन्जको धम्बोझीस्थित सुर्खेतरोडमा बिहानै बाँके र बर्दियाका किसानले उत्पादन गरेका तरकारी किनमेल गर्ने उपभोक्ताको भीड लाग्ने गरेको छ।

नेपालगन्जस्थित रानीतलाउ कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले भारतीय सागसब्जीको आयातमा कडाइ भएपछि बाँकेका किसानले उत्पादन गरेको तरकारीले राम्रो बजार पाएको बताइन्।

रानीतलाउ सागसब्जी बजारमा अहिले मुख्यरुपमा बाँकेमै उत्पादन भएका कृषिउपज आउने गरेका छन्। भारतबाट बिक्रीका लागि तरकारी ल्याउँदा भन्सार तिर्नुपर्ने भएपछि स्वदेशी उत्पादनले बजार विस्तार गर्ने अवसर पाएको हो।

भारतबाट भन्सार तिरेर तरकारी ल्याउँदा लागत बढ्ने भएकाले व्यवसायीले भारतीय उत्पादनको आयात घटाएका छन्। अहिले नेपालगन्जको बजारमा बाँकेको डुडुवा गाउँपालिका-६ हिरमिनिया, नेपालगन्ज-१४ बालेगाउँ, जानकी गाउँपालिकाको ढोडेगाउँ तथा खजुरा गाउँपालिकाका किसानले उत्पादन गरेका तरकारी बिक्री हुने गरेका छन्।

सल्यान, सुर्खेत र बर्दियाबाट समेत थोकमा तरकारी आउने गरेको अध्यक्ष थापा क्षेत्रीले बताइन्। स्थानीय किसानले व्यावसायिक रुपमा उत्पादन गरेका फूलगोभी, बन्दागोभी, लौका, फर्सी, काँक्रा, बोडी, गोलभेँडा र खुर्सानीलगायतका कृषिउपजले नेपालगन्जको बजार धानेको छ।

नेपालगन्ज उपमहानगरपालिका-२१ पुरैनाका किसान जलालुद्दीन बागवनले भारतीय तरकारीको आयात घटेपछि स्थानीय उत्पादनले राम्रो मूल्य पाउन थालेको बताए।

यस वर्ष राप्ती नदीको किनारमा गरिएको तरभुजा खेतीले भारतीय तरभुजालाई समेत बजारमा विस्थापित गरेको छ। उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले पछिल्लो समय उपभोक्ता अर्गानिक तथा स्थानीय उत्पादनतर्फ आकर्षित भइरहेको बताए।

प्रकाशित: २७ साउन २०८३ १७:१५ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast