काठमाडौँ- लुम्बिनी प्रदेशमा सरकार गठन गर्न नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा मसालसँग दुई बुँदे सहमति गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मशालका महामन्त्री मोहनविक्रम सिंहबीच बुधबार दुई बुँदे सहमति भएको हो।
सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ। त्यस्तै दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरूद्ध आन्दोलनमा सहकार्य गर्ने भनिएको छ।
लुम्बिनी प्रदेशमा नेकपा मशालको १ सांसद छन्।
८३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४२ सांसदको समर्थन आवश्यक हुन्छ। लुम्बिनी प्रदेशसभामा एमालेका २९ र नेकपाका १३ सांसदसहित ठीक ४२ पुग्छ। तर सभामुख नेकपाको भएकाले एक सांसद अपुग भएपछि एमाले र नेकपाले मोहविक्रम सिहसँग सहमति गरेको हो।
नेकपा मशालले पनि सहकार्य गरेपछि सरकारको पक्षमा ४३ सांसद हुनेछन्।
एमाले–नेकपासहितको गठबन्धनमा सरकार बनाउन नेपाली कांग्रेस तयार नभएपछि लुम्बिनीलगायतका प्रदेशमा सत्तासमीकरण हेरफेर हुन लागेको हो।
लुम्बिनीमा कांग्रेसको २७, जसपा नेपालका ५, राप्रपाका ४, राष्ट्रिय जनमोर्चाका १ र एक जना स्वतन्त्र सांसद छन्।



