काठमाडौँ- वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको अन्त्येष्टि कार्यक्रममा सरकारका तर्फबाट श्रद्धाञ्जलीसहित शोक सलामी दिइने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डा. विमलको अन्त्येष्टिमा सरकारका तर्फबाट उनको योगदानप्रति सम्मान प्रकट गरिने जनाएको हो।
मन्त्रालयको प्रशासन शाखाले मंगलबार जिल्ला प्रशासन कार्यालय, धनुषालाई पत्र पठाउँदै अन्त्येष्टि कार्यक्रममा आवश्यक सहजीकरण तथा व्यवस्थापन मिलाउन अनुरोध गरेको छ। अन्त्येष्टि समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल सहभागी हुने पत्रमा उल्लेख छ।
जनकपुरधाम उपमहानगरपालिका-१०, देवीचोक निवासी डा. विमलको २०८३ साउन २५ गते राति निधन भएको थियो। मन्त्रालयले भाषा, संस्कृति तथा साहित्य क्षेत्रमा उनले पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सरकारका तर्फबाट सम्मान प्रकट गर्न लागिएको जनाएको छ।
डा. राजेन्द्र विमल प्रतिष्ठानका संरक्षक, बहुभाषाविद्, संस्कृतिकर्मी तथा मैथिली र नेपाली साहित्यका विशिष्ट धरोहर थिए। उनलाई आदर्शोन्मुख यथार्थवादी एवं मानवतावादी सर्जक भनेर चिनिन्छ।
विमलको जन्म सन् १९४७ मार्च २६ देवीचोक, जनकपुरमा भएको थियो। डा. विमल २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापन गर्दै आएका थिए।
यसैगरी उनले मिथिला क्षेत्रमा मैथिली भाषी विद्यार्थीहरूलाई नेपाली भाषामा शिक्षित गराउनुका साथै नेपाली भाषामा अनेकानेक ग्रन्थ रचना गरी नेपाली भाषा वाङ्मयलाई समृद्ध तुल्याउने कामसमेत गरिरहेका छन्।
राजेन्द्र विमल नेपाली साहित्यको समसामयिक धारामा कलम चलाउने प्रतिभा हुन्। नेपाली, हिन्दी र मैथिली साहित्यमा एमएसम्मको अध्ययन पूरा गरेका विमलले भाषाविज्ञानमा विद्यावारिधि गरेका थिए।
उनी ‘आर्याव्रत’ पत्रिकामा ‘लामखुट्टे’ र ‘उडुस’ कथा प्रकाशन गरेर साहित्य लेखनमा प्रवेश गरेका हुन्। उनका राजेन्द्र विमलका कथाहरू (२०६२), समयका आँखा (२०६९) जस्ता कथासङ्ग्रह सार्वजनिक भएका छन्।
विमलले नेपाली तथा मैथिली भाषामा कथाको रचना गरेका छन्। नेपाली समाजमा देखिएको क्षेत्रीय, जातीय तथा वर्गीय विभेदको अन्त्य गरी सामाजिक न्याय प्राप्त गर्न सकिने समाजको परिकल्पना गर्दै कृति रचना गर्ने विमलले आफ्ना रचनाका माध्यमबाट युद्धको विरोध र शान्तिको कामना गरेका छन्।


