हसिनाको छायाबाट बाहिर निस्कँदै भारत-बंगलादेश सम्बन्ध

हिमाल प्रेस २६ साउन २०८३ १३:२२ | Tuesday, August 11, 2026
14
SHARES
हसिनाको छायाबाट बाहिर निस्कँदै भारत-बंगलादेश सम्बन्ध सेख हसिना। फाइल तस्बिर : एपी

बंगलादेशले ‘जुलाई आन्दोलन’ को दोस्रो वार्षिकोत्सव भर्खरै मनाएको छ। यही आन्दोलनले तत्कालीन प्रधानमन्त्री सेख हसिनालाई सत्ताबाट हटाएको थियो। पछिल्ला दुई वर्षमा बंगलादेश सन् २०२४ का घटनाक्रमबाट अघि बढिसकेको छ। सुरुमा मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बन्यो भने अहिले प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा निर्वाचित सरकार छ।

ढाकाका धेरै मानिस बंगलादेश अब कानुनी शासन र शान्तिसुरक्षाको दिशामा अघि बढिरहेको ठान्छन्। तर धेरैले सोध्ने पहिलो प्रश्न हो- के सेख हसिनाको राजनीतिक यात्रा समाप्त भइसकेको हो?

अगस्ट ५ मा नयाँदिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै हसिनाले आफ्ना पिता सेख मुजिबुर रहमानलाई स्मरण गरिन्। उनले बंगलादेशको स्वतन्त्रताका लागि आफ्नो परिवारले गरेको बलिदानको उल्लेख गर्दै आफू फर्केर आउने र आफूले माया गर्ने मानिससँगै रहने बताइन्।

हसिना प्रत्यक्ष रूपमा नभई अडियोमार्फत भर्चुअल रूपमा सञ्चारमाध्यमसँग जोडिएकी थिइन् भने उनका छोरा सजीब वाजेद अमेरिकाबाट सहभागी भएका थिए। २० मिनेटभन्दा लामो सम्बोधनमा हसिनाले मुख्यतः तीन कुरा भनिन्- सन् २०२४ को जुलाई-अगस्ट आन्दोलन ‘पूर्वयोजित हमला’ थियो, देश सुरक्षित छैन र आफू जुनसुकै अवस्थामा पनि फर्किनेछु। उनले भनिन्, ‘मेरो भाग्यमा जे लेखिएको भए पनि म फर्किनेछु। आफ्ना प्यारा देशवासीलाई दुःखमा छाडेर म टाढा रहन सक्दिनँ।’

पुनरागमन तत्काल नहुन सक्छ

बंगलादेशका जनता र सञ्चारमाध्यमबाहेक सेख हसिना कहिल्यै फर्किन्छिन् कि फर्किन्नन् भन्ने प्रश्न कूटनीतिक वृत्त र अन्तर्राष्ट्रिय तहमा पनि चर्चाको विषय बनेको छ। यसको कारण बंगलादेशमा हुने राजनीतिक घटनाक्रमले समग्र क्षेत्रलाई प्रभावित पार्न सक्छ। त्यहाँ पुनः अस्थिरता बढे त्यसको असर लगानी, व्यापारलगायत अन्य क्षेत्रमा पनि पर्न सक्छ।

नयाँदिल्लीका जानकारहरू पनि हसिनाको पुनरागमनलाई लिएर भारतको सोच र रणनीति के हो भन्ने बुझ्ने प्रयास गरिरहेका छन्। प्रायः सबैको धारणा एउटै देखिन्छ-कम्तीमा वर्तमान परिस्थितिमा उनको बंगलादेश फर्किने सम्भावना छैन।

सेख हसिनालाई सत्ताबाट हटाउन जुलाई आन्दोलन आवश्यक परेको थियो भने उनको पुनरागमनका लागि अवामी लिगका कार्यकर्ता र समर्थकसहित अर्को ठूलो आन्दोलन आवश्यक पर्नेछ।

हसिनाले पत्रकार सम्मेलनमा भनेकी छन्, ‘कम्तीमा १० हजार मानिस मारिएका वा बेपत्ता भएका छन् र पछिल्ला दुई वर्षमा करिब ६ लाख ५० हजार मानिस गिरफ्तार भएका छन्, तीन हजार पाँच सय मुद्दा दर्ता भएका छन्, करिब चार लाख ५० हजार नेता, कार्यकर्ता र समर्थकलाई अभियुक्त बनाइएको छ तथा मविरुद्ध मात्रै करिब ६०० मुद्दा दर्ता भएका छन्।’

यस्तो अवस्थामा अवामी लिगका कार्यकर्ता या त भूमिगत छन् या गिरफ्तार भएर जेलमा छन्। त्यसैले उनको पुनरागमनका लागि कुनै ठूलो आन्दोलन खडा हुन सहज देखिँदैन।

यद्यपि हसिनाले आफूलाई आफ्नो ‘भाग्य’को कुनै चिन्ता नरहेको र आफ्ना जनताका लागि जसरी पनि फर्कन चाहेको बताएकी छन्। तर तत्काल उनको पुनरागमन सम्भव देखिँदैन। यद्यपि उनका भनाइ अवामी लिगका समर्थकमा मात्र सीमित छैनन्। सन् १९७१ मा पाकिस्तानविरुद्ध बंगलादेशको स्वतन्त्रताको लडाइँ तथा स्वतन्त्र बंगलादेशको सांस्कृतिक र वैचारिक पहिचानको प्रतीकका रूपमा सेख मुजिबुर रहमान र पछि उनकी छोरी हसिनालाई हेर्ने धेरै मानिसले पनि उनका भनाइसँग भावनात्मक सम्बन्ध महसुस गर्छन्।

हसिनाको पुनरागमनको सम्भावना कम भए पनि पूर्णतः असम्भव भने छैन। त्यसका लागि निकै लामो समय पर्खनुपर्ने हुन सक्छ- सायद एउटा पूरै पुस्तासम्म। बंगलादेशको इतिहासमा आन्दोलन र सत्तामा पुनरागमन नयाँ कुरा होइन।

अहिले सत्तामा रहेको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) पनि सन् २०२४ सम्म भूमिगत अवस्थामा थियो। तारिक रहमान एक दशकभन्दा बढी समय बेलायतमा स्वनिर्वासनमा बसे। त्यस्तै जमात-ए-इस्लामीको अस्तित्व र भविष्य पनि लामो समयसम्म संकटमा रह्यो। अहिले एउटा पार्टी सत्तामा छ भने जमातले संसद्‌मा ११ दल सम्मिलित विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको छ।

त्यसैले बंगलादेशको इतिहास आन्दोलन, क्रान्ति र नेतृत्वमा हुने ठूला परिवर्तनसँग जोडिएको छ। यस्तो अवस्थामा अवामी लिगको पुनः खुला राजनीतिमा फर्किन समय लाग्न सक्छ, तर त्यो सम्भव भने छ।

तर वर्तमान सरकारसामु यसभन्दा पनि ठूलो चुनौती छ। उसले आफू हसिना सरकारभन्दा भिन्न रहेको कुरा निरन्तर प्रमाणित गरिरहनुपर्नेछ। साथै, राम्रो प्रदर्शन गर्नुपर्ने दबाब पनि उसमाथि सधैँ रहनेछ।

भारतमाथिको प्रभाव

नयाँदिल्लीमा सेख हसिनाले पत्रकार सम्मेलन गरेपछि बंगलादेशको परराष्ट्र मन्त्रालयले कडा प्रतिक्रिया जनायो। मन्त्रालयले भनेको थियो, ‘फरार र नरसंहारका लागि दोषी ठहर गरिएकी सेख हसिनालाई नयाँदिल्लीमा सञ्चारमाध्यमसँग प्रत्यक्ष कुराकानी गर्ने अनुमति दिइएकोमा बंगलादेश आक्रोशित छ। उनले र उनका सहयोगीहरूले बंगलादेश र त्यहाँका जनताविरुद्ध विषालु अभिव्यक्ति दिएका छन्।’

यसले हसिना देशबाहिर रहेर पनि बंगलादेश सरकारका लागि चिन्ताको विषय बनिरहेकी छन् भन्ने देखाउँछ।

हसिना भारतमा रहनुले दुई देशको सम्बन्धमा तनाव पैदा गरेकोमा कुनै शंका छैन। तर नयाँदिल्लीमा कतिपय यही नै दुई देशबीचको तनावको एकमात्र कारण हो भन्ने ठान्छन्। जबकि केही जानकार स्पष्ट रूपमा भन्छन्- हसिनालाई बंगलादेश पठाइदिए पनि दुई देशको सम्बन्ध पुनः सामान्य हुन्छ भन्ने सुनिश्चित छैन।

कतिपयले अर्को प्रश्न पनि गर्छन्- हसिना सत्तामा रहँदा पनि ढाका र नयाँदिल्लीबीच तनाव थिएन र? कतिपय अवस्थामा यसको कारण बंगलादेशको चीनतर्फको झुकाव वा त्यहाँ अल्पसंख्यकमाथि हुने हिंसा थियो। यद्यपि त्यतिबेला दुई देशबीच प्रत्यक्ष संवादको बाटो खुला थियो, जुन अहिले लगभग बन्द भएको देखिन्छ।

नयाँदिल्लीले आजको नयाँ बंगलादेशलाई पनि बुझ्नुपर्नेछ। यो त्यस्तो बंगलादेश हो, जहाँ आन्तरिक र बाह्य दुवै तहमा ठूलो परिवर्तन आएको छ। यी परिवर्तनले भारतप्रतिको जनधारणा, चीनतर्फको झुकाव, आर्थिक विकास तथा विश्वमा बंगलादेशको स्थानमा पनि प्रभाव पारेका छन्।

सन् २०२६ मा बंगलादेशको कुल गार्हस्थ्य उत्पादन करिब ५१० अर्ब अमेरिकी डलर पुग्ने अनुमान छ। आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने तथा प्रतिव्यक्ति जीडीपी २,९११ डलर पुग्ने अनुमान गरिएको छ। सन् २०२५ देखि २०२६ बीच प्रतिव्यक्ति जीडीपीमा १०.५ प्रतिशत वृद्धि हुने अनुमान छ।

चीन बंगलादेशको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। बंगालको खाडी र समग्र हिन्द-प्रशान्त क्षेत्रमा पनि बंगलादेशको रणनीतिक महत्त्व निकै ठूलो छ। त्यसैले अमेरिकालगायत विश्वका ठूला शक्तिका लागि पनि बंगलादेश महत्त्वपूर्ण रणनीतिक साझेदार बनेको छ।

अर्कोतर्फ, बंगलादेशको सेनाले ‘फोर्सेस गोल २०३०’ अन्तर्गत आधुनिकीकरण गरिरहेको छ। यो अभियान सन् २००९ मा सुरु भएको थियो। हसिनाको कार्यकालमा यसमा विभिन्न परिवर्तन गरिएका थिए र वर्तमान सरकारका पालामा पनि यसमा परिवर्तन हुनु स्वाभाविक मानिन्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, बंगलादेशको भौगोलिक अवस्थिति निकै रणनीतिक छ। ऊ न त भूपरिवेष्टित देश हो, न त टापु राष्ट्र। यही कारणले पनि समग्र क्षेत्रमा उसको महत्त्वपूर्ण भूमिका रहन्छ।

बंगलादेशको जनसांख्यिक अवस्थासमेत ध्यान दिनलायक छ। युवा पुस्ता स्थानीय वा क्षेत्रीय सीमाभन्दा बाहिर गएर शिक्षा र रोजगारीका अवसर खोजिरहेको छ। यो त्यस्तो पुस्ता हो, जसका लागि विशेषगरी सन् १९७१ को इतिहासको बोझ अघिल्ला पुस्ताको तुलनामा कम छ।

यी सबै पक्ष हेर्दा ढाकाले भारतसँग ‘बंगलादेश सार्वभौम समानता, पारस्परिक सम्मान, एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र राष्ट्रिय गरिमाका आधारमा भारतसँग रचनात्मक, दुवैका लागि लाभदायक तथा भविष्यतर्फ उन्मुख सम्बन्ध चाहन्छ’ भन्छ, त्यससँगै दुई देशबीच विद्यमान तनावको चुनौती पनि जोडिएर आउँछ।

नयाँदिल्लीमा हसिनाको पत्रकार सम्मेलनप्रति आपत्ति जनाउँदै बंगलादेशको परराष्ट्र मन्त्रालयले यो पनि भनेको थियो, ‘भारतमा उनलाई सञ्चारमाध्यमसँग खुलेर कुरा गर्ने अवसर दिनुले हाम्रा जनताको भावनामा गहिरो चोट पुर्‍याउँछ र दुई देशबीच राम्रो सम्बन्ध विकास गर्ने प्रयासका लागि हानिकारक छ।’

ढाकाको सरकार र त्यहाँका सञ्चारमाध्यमले प्रायः प्रश्न उठाउँछन्- भारतमा पाहुनाका रूपमा रहेकी हसिनालाई सञ्चारमाध्यम र जनतासँग कुराकानी गर्ने अनुमति किन दिइयो? तर यही नियम त्यतिबेला पनि लागू हुनुपर्थ्यो, जब तारिक रहमान वर्षौंसम्म बेलायतमा निर्वासनमा बसेर बंगलादेशको राजनीति र सार्वजनिक बहसमा सहभागी भइरहेका थिए। के त्यतिबेला ढाकाले बेलायतसँगको सम्बन्धमा यसलाई कुनै सर्त बनाएको थियो? जवाफ हो- थिएन।

भारतविरोधी वातावरण बनाउनु अहिले एउटा चलन र सहज राजनीतिक हतियार बनेको छ। बंगलादेशले आज त्यसो गरिरहेको छ भने ऊ पनि त्यही बाटोमा अघि बढिरहेको छ। दुर्भाग्यवश, लामो समयदेखि यस क्षेत्रका साना देशहरूका लागि आफ्ना राजनीतिक र आर्थिक कमजोरीको दोष भारतमाथि थोपर्न सजिलो हुँदै आएको छ।

तर आज यस्तो तर्कलाई निरन्तर सही साबित गर्न पहिले जत्तिको सहज छैन। भारतका छिमेकी देशहरू पहिलेभन्दा बलिया, समृद्ध र प्रभावशाली बनेका छन्। क्षेत्रीय र विश्वव्यापी तहमा उनीहरूको आफ्नै पहिचान छ। त्यसका बाबजुद हरेक समस्याका लागि नयाँदिल्लीलाई जिम्मेवार ठहराउने प्रयास जारी छ। यो अब रणनीतिक सोचभन्दा राजनीतिक सुविधाजस्तो देखिन थालेको छ।

भारत र बंगलादेशबीचका चुनौती अझै कायम छन् र आगामी दिनमा दुई देशबीचको सम्बन्धमा थप तनाव पनि आउन सक्छ। तर सम्बन्धलाई पुनः सुधार गर्ने एउटै बाटो छ- दुई देशबीचको सम्बन्ध कुनै एक व्यक्तिको वरिपरि नघुमोस्, बरु व्यापक मुद्दा र पारस्परिक सहयोगलाई प्राथमिकता दिइयोस्।
ढाकाले भारतसँग प्रश्न गर्छ र कडा भाषा प्रयोग गर्छ। तर उसले नयाँदिल्लीका सुरक्षा चासोलाई पनि ध्यान दिनुपर्नेछ। यसमा बंगलादेश क्रमशः चीनको प्रभाव क्षेत्रतर्फ अघि बढिरहेको विषय पनि समावेश छ।

[भारतीय अनलाइन पत्रिका द प्रिन्टमा प्रकाशित ऋषि गुप्ताको यो सामग्री अंग्रजीबाट अनुवाद गरिएको हो।]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast