काठमाडौँ- चिनियाँ अटोमोबाइल ब्रान्ड चेरी, आर्कफक्स, जेटोर, बीएआईसी, डेन्जा, भिआटो होन्री र हङ्ची ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ मार्फत नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गर्दै छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो काठमाडौँमा मंगलबारदेखि साउन ३१ गतेसम्म सञ्चालन हुँदै छ।
यी ब्रान्डले नेपाली बजारमा विद्युतीय, हाइब्रिड तथा प्लग-इन हाइब्रिड सवारीसाधनको विविध मोडल ल्याउँदै छन्।
नेपालमा विद्युतीय सवारीसाधनको माग उल्लेख्य रूपमा बढिरहेका बेला यी ब्रान्डको प्रवेशले नेपाली बजारप्रति चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरूको बढ्दो चासो प्रतिबिम्बित गरेको छ।
चीनका प्रमुख अटोमोबाइल निर्माता कम्पनीमध्ये एक चेरी कम्प्याक्ट एसयूभी ‘चेरी क्यूक्यू’मार्फत नेपाली बजारमा औपचारिक प्रवेश गर्दै छ। नेपालमा चेरीको प्रतिनिधित्व एसपीजी अटोमोबाइल्सले गरेको छ। चेरीको अन्तर्राष्ट्रिय बजारमा व्यापक उपस्थिति छ र कम्पनीले परम्परागत इन्जिनयुक्त, हाइब्रिड तथा विद्युतीय सवारीसाधन उत्पादन गर्दै आएको छ।
चेरीका ओमोडा एन्ड ज्याकु र आईकौरजस्ता सब-ब्रान्ड नेपालमा यसअघि नै उपलब्ध भए पनि ‘क्यूक्यू’को सुरुवातसँगै चेरी ब्रान्ड स्वयंले नेपाली बजारमा औपचारिक प्रवेश गर्न लागेको हो। यसअघि सन् २०१० मा बामा मोटर्समार्फत चेरीले क्यूक्यू३, ए१ र टिग्गोजस्ता आन्तरिक दहन इन्जिन (आईसीई) भएका कार नेपालमा ल्याएको थियो।
चिनियाँ अटोमोबाइल निर्माता बीएआईसीको विद्युतीय सवारीसाधन ब्रान्ड आर्कफक्स ‘टी१’ विद्युतीय क्रसओभरमार्फत नेपाल प्रवेश गर्दै छ। यो मोडल कम्प्याक्ट विद्युतीय सवारीसाधनको श्रेणीमा पर्छ। नेपालमा आर्कफक्सको आधिकारिक वितरक लक्ष्मी ग्रुप हो।
आर्कफक्स चिनियाँ अटोमोबाइल क्षेत्रको प्रमुख कम्पनी बीएआईसी ग्रुपको सब-ब्रान्ड हो।
अर्को चिनियाँ अटोमोबाइल ब्रान्ड जेटोर पनि टी१ र टी२ प्लग-इन हाइब्रिड विद्युतीय सवारीसाधन (पीएचईभी) मार्फत नेपाली बजारमा प्रस्तुत हुँदै छ। एसयूभी र क्रसओभरमा केन्द्रित यो ब्रान्डको प्रतिनिधित्व पनि नेपालमा लक्ष्मी ग्रुपले गर्दै छ। जेटोर पनि चेरीको सब-ब्रान्ड हो।
बीएआईसी अर्थात् बेइजिङ अटोमोटिभ इन्डस्ट्री होल्डिङ कम्पनी चीनको स्थापित अटोमोबाइल निर्माता कम्पनीमध्ये एक हो। कम्पनीले नेपालमा ‘बीजे३० हाइब्रिड’ सार्वजनिक गर्दै छ। यो एसयूभीमा १.५ लिटर टर्बोचार्ज्ड इन्जिनसँग दुईवटा विद्युतीय मोटर जडान गरिएको छ। नेपालमा यो ब्रान्ड पनि लक्ष्मी ग्रुपमार्फत प्रस्तुत हुँदै छ।
डेन्जा बीवाईडी र मर्सिडिज-बेन्जले संयुक्त रूपमा स्थापना गरेको प्रिमियम नयाँ ऊर्जा सवारीसाधन ब्रान्ड हो। तर जर्मन ब्रान्ड मर्सिडिज-बेन्जले सन् २०२४ मा आफ्नो हिस्सा त्यागेपछि डेन्जा अहिले पूर्ण रूपमा बीवाईडीको स्वामित्वमा छ। डेन्जाले मे महिनामै काठमाडौँमा आफ्नो छुट्टै सोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याइसकेको भए पनि नेपाल मोबिलिटी एक्स्पोमार्फत नेपालमा यसको औपचारिक सार्वजनिक प्रवेश हुँदै छ। एक्स्पोमा डेन्जाले डी९ एमपीभी तथा बी५ र बी५ एसयूभी प्रदर्शन गर्नेछ।
प्रिमियम तथा विलासी सवारीसाधनका लागि परिचित लामो इतिहास बोकेको चिनियाँ अटोमोबाइल ब्रान्ड हङ्ची पनि नेपालको बढ्दो विद्युतीय सवारीसाधन बजारमा प्रवेश गर्दै छ।
चिनियाँ राष्ट्रपतिको आधिकारिक कार निर्माता कम्पनीका रूपमा समेत हङ्ची परिचित छ। यो ब्रान्ड ‘ई-एचएस९’ प्रिमियम विद्युतीय एसयूभीमार्फत नेपालमा प्रवेश गर्दै छ। नेपालमा हङ्चीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स हो।
त्यस्तै, भिआटो होन्री पनि जेननेक्स्ट मोटर्समार्फत ‘बोमा’ विद्युतीय मिनी कारका साथ नेपालमा प्रवेश गर्दै छ। बोमा ईभी सहरी प्रयोगकर्ता र छोटो दूरीको सहरकेन्द्रित यात्रालाई लक्षित गरिएको कम्प्याक्ट विद्युतीय सवारीसाधन हो। कम्पनीका अनुसार यो मोडलमा आधुनिक प्रविधि र सुविधाका साथै आकर्षक मूल्य संयोजन गरिएको छ, जसले सानो आकारको विद्युतीय सवारीसाधन खोज्ने ग्राहकलाई अर्को विकल्प प्रदान गर्नेछ।
भृकुटीमण्डपमा हुने एक्स्पोमा २० लाखदेखि साढे तीन करोड मूल्य बराबरका विद्युतीय गाडी राखिँदै छ। एक्स्पोमा ५२ वटा स्टल रहनेछन्। एक्स्पोमा दुईपांग्रे सवारीका १८ र चारपांग्रेका २९ नयाँ ब्रान्ड सार्वजनिक गरिँदै छ।
आयोजकका अनुसार एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी उत्पादन विशेष रूपमा समेटिएको छ।


