काठमाडौँ- साउन २३ गते बिहान १० बजेदेखि २४ गते बिहान १० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन्। ती घटनामा २० जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा सर्पदंशका २०, आगलागीका नौ, पहिरोका आठ, चट्याङको एक, अतिवृष्टिका दुई तथा वन्यजन्तु आक्रमणको एक घटना भएका छन्।
विपद्का घटनामा उद्धार तथा व्यवस्थापनका लागि १७३ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
सर्पदंशका घटनामा २० जना घाइते भएका छन्। विभिन्न विपद्का घटनाबाट रु ३८ लाख ४७ हजार ५०० बराबरको अनुमानित क्षति भएको छ। चार स्थानमा सडक अवरुद्ध हुनुका साथै एउटा चौपायाको मृत्यु भएको छ।
यसैबीच, गत वैशाख १ देखि साउन २४ गतेसम्म देशभर चार हजार ४५२ वटा विपद्का घटना भएका छन्। ती घटनामा २०५ जनाको मृत्यु, पाँच जना बेपत्ता र एक हजार ३४७ जना घाइते भएका छन्। विपद्बाट पाँच हजार ४९२ परिवार प्रभावित भएका छन्।


