काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन्।
कांग्रेस काठमाडौँ महानगरपालिका २६ वडा कार्यसमितिले शनिबार आयोजना गरेको सम्मान तथा शुभकामनामा उनले पार्टीले असोजको १६ देखि १९ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा महाधिवेशन हुने बताए।
‘कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ, उक्त बैठकले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नेबारे निर्णय गर्छ,’ उनले भने।
पौडेलले पछिल्लो समय कांग्रेसलाई कमजोर बनाउने र अल्मल्याउने काम भइरहेको भन्दै यसप्रति सबै नेता तथा कार्यकर्ता सचेत हुनुपर्ने बताए।
महामन्त्री पौडेलले कांग्रेस डिजिटल माध्यममार्फत सबैभन्दा धेरै क्रियाशील सदस्य भएको पार्टी बनेको भन्दै अब क्रियाशील सदस्यबाटै स्थानीय तहको उम्मेवार छान्ने व्यवस्था गरिने उल्लेख गरे।
कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँले कांग्रेस कमजोर भएमा लोकतन्त्र कमजोर हुने भन्दै बलियो बनाउनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए।


