रास्वपा सांसद मनिष झाको प्रश्न – राज्य सञ्चालनको ढंग नपुगेको हो कि?

हिमाल प्रेस २२ साउन २०८३ १७:३९ | Friday, August 7, 2026
8
SHARES
रास्वपा सांसद मनिष झाको प्रश्न – राज्य सञ्चालनको ढंग नपुगेको हो कि?

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारलाई राज्य सञ्चालनको ढंग नपुगेको हो कि भन्दै प्रश्न गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नियतमा समस्या नभए पनि राज्य सञ्जालमा ढंग नपुगेको जस्तो देखिएको बताए।

‘अहिले इन्टिग्रिटीमा समस्या छैन, इन्टेन्सनमा समस्या छैन। तर, कताकता ढंग नपुगेको हो? भन्ने चाहीँ लाग्छ र त्यो स्वीकार गर्नुपर्छ,’ झाले भने।

आफू सबैथोकको ज्ञाता रहेको सोच राख्ने व्यक्ति शव समान रहेको बताउँदै उनले हरेक दिन केही नकेही सिक्न आवश्यक रहेको जिकिर गरे।

झाले भने, ‘मलाई के थाहा छैन आफूले जान्नुपर्दछ, राज्य प्रणालीको सञ्चालको कुराहरूमा हामीले कतै ढंग सुधार्नुपर्छ कि जस्तो लागेको छ।’

उनले मुलुकको समग्र विकासका लागि सामाजमा सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए। सामाजिक सन्तुलन नरहेसम्म सामाजिक न्याय रहन नसक्ने उनको भनाइ छ।

झाले विकासको दिगोपनका लागि मधेश, प्रवास र नीजि क्षेत्र प्रमुख स्टेक होल्डर भए पनि तीनै असुरक्षित रहेको बताए। उनले भने,‘विकासको दिगोपनका लागि मधेश, प्रवास र निजी क्षेत्र प्रमुख स्टेक होल्डर छन्। तर दुर्भाग्यवश तीन असुरक्षित छन्।’

सांसद झाले भर्खरै मधेशमा देखिएको समस्या तत्कालका लागि समाधान भएको देखिए पनि अन्त्य नभएको भन्दै सरकारलाई सचेत गराए।

‘मधेशमा भर्खरै आगो बल्यो, हामीले जसोतसो निभयौँ,’ उनले भने,‘तर सरकारलाई म यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु, आगो निभेको हो, दाउरा निभेको छैन, त्यसमा सचेत भइराख्नुस्।’

मधेशमा अझै विभेद कायम रहेको बताउँदै उनले सन्तुलन बनाउन सरकारसँग आग्रह गरे।

‘त्यहाँ २५ रुपैयाँको चिप्स खोजिन्छ, एयरपोर्टमा त ब्लू लेबल र ल्यापटक ल्याउन दिनुभएको छ,’ झाले भने,‘हाम्रो मधेशको बोर्डरमा २५ रुपैयाँको चिप्स किन खोजिँदैछ? खोई त सन्तुलन?’

सवारी साधनबाट कालो स्टिर हटाए जस्तै कालो चश्मा हटाउन पनि आवश्यक रहेको उनले बताए।

‘हामीले सवारी साधनको कालो सिसा, कालो स्टिकर त हटायौँ, अब सम्भवतः काशो चश्मा पनि हटाउनुपर्छ, त्यो पनि आवश्यक छ,’ उनले भने।

सरकारको कार्यशैलीबाट निजी क्षेत्र त्रासमा रहेको उल्लेख गर्दै सांसद झाले निजी क्षेत्रलाई आत्मविश्वास दिलाउन आग्रह गरे।

‘निजी क्षेत्र त्रसित छन्, प्रहरी देखेपछि म सुरक्षित छु सोच्नुपर्ने नागरिक त्रासमा छन्, कुनबेला धरपकड गर्ला भनेर, कुन बेला मेरो घरमा छापा मार्ला भनेर,’ उनले भने,‘निजी क्षेत्रलाई आत्मविश्वास दिनुस्, भएको पैसा खर्च गर्न दिनुस्, लगानीको वातावरण दिनुस्, त्यो आवश्यक छ।’

सांसद झाले अर्थ मन्त्रालयबाट प्रयासहरू भइरहे पनि त्यो कागजमा मात्रै देखिएको व्यवहारमा देखिन नसकेको बताए।

प्रकाशित: २२ साउन २०८३ १७:३९ | Friday, August 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast