सरकारले जनताको ध्यान मोड्न विषयान्तर गरिरहेको कांग्रेसको आरोप

हिमाल प्रेस २० साउन २०८३ १४:३७ | Wednesday, August 5, 2026
12
SHARES
सरकारले जनताको ध्यान मोड्न विषयान्तर गरिरहेको कांग्रेसको आरोप

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नैतिक तथा राजनीतिक संकटमा परेको सरकारले समस्याको समाधान खोज्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने प्रयास गरिरहेको आरोप लगाएको छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनविश्वासको संकटबाट उम्किन नयाँनयाँ विषय सिर्जना गर्दै मुल मुद्दाबाट ध्यान मोड्न लागेको बताए।

उनले नेपालमा सरकार नैतिक संकट, राजनीतिक अक्षमता र जनविश्वासको संकटमा पर्दा समाधान खोज्नेभन्दा विषयान्तर गर्ने प्रवृत्ति दोहोरिने गरेको टिप्पणी गरे। सरकार अहिले पनि त्यही रणनीतिमा अघि बढेको उनको आरोप थियो।

प्रवक्ता चालिसेका अनुसार सरकारले जतिसुकै विषयान्तर गर्न खोजे पनि सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारसँग सम्बन्धित मुद्दाको महत्व कम नहुने बताए। यस्ता विषयलाई समय वा सरकारी प्रयासले ओझेलमा पार्न नसकिने उनको भनाइ थियो।

कांग्रेसले वर्तमान सरकारको अस्थिरता नचाहेको भन्दै सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सरकार बलियो र स्थिर बन्नुपर्ने आफ्नो धारणा दोहोर्‍याएको छ। सरकार प्रभावकारी र जिम्मेवार बन्नुपर्ने अपेक्षा राख्नु कमजोरी नभएको प्रवक्ता चालिसेले बताए।

उनले कांग्रेसले कुनै पनि राजनीतिक दलको आन्तरिक मामिलामा टिप्पणी गर्न नचाहे पनि सरकारका गतिविधिका कारण लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठे मौन बस्न नसकिने बताए।

प्रवक्ता चालिसेले विकसित राजनीतिक घटनाक्रमले सत्तामा पुगेका सबै दल संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक मूल्यमान्यताप्रति समान रूपमा प्रतिबद्ध रहन्छन् भन्ने सुनिश्चितता नहुने देखाएको दाबी गरे।

उनका अनुसार कुनै दल सत्तामा पुगेपछि लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता त्यसको विचारधारा, इतिहास, समर्पण र भावी भूमिकाबाट परीक्षण हुने गर्दछ।

प्रकाशित: २० साउन २०८३ १४:३७ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast