काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एलपी ग्यासको आपूर्तिबारे सरकारको दाबी र उपभोक्ताले भोगिरहेको वास्तविक अवस्थाबिच अन्तर रहेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पोखरेलले सरकारले ‘एलपी ग्यासको कुनै अभाव छैन’ भन्ने दाबी गरिरहे पनि ग्यास डिपोमा पुगेका उपभोक्ताले भने १५ दिनपछि मात्र सिलिन्डर पाउने जानकारी पाएको उल्लेख गरेका छन्।
उनले जनताले भोगिरहेको सास्तीलाई अस्वीकार गरेर समस्याको समाधान नहुने भन्दै अभावको वास्तविक अवस्था स्वीकार गरी तत्काल व्यावहारिक समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।
पोखरेलले फेसबुकमा लेखेका छन्,‘सरकार भन्छ–एलपी ग्यासको कुनै अभाव छैन। तर सिलिन्डर बोकेर ग्यास डिपो पुगेका आम उपभोक्ताले भने– १५ दिनपछि मात्र पालो पाइन्छ भन्ने जवाफ सुन्न बाध्य छन्। जनताले भोगेको यो सास्तीलाई अस्वीकार गरेर समस्याको समाधान हुँदैन। अभावलाई लुकाएर होइन, यथार्थ स्वीकार गर्दै तत्काल व्यावहारिक समाधान खोजियोस्।’


