काठमाडौँ- दुर्गम तथा सामरिक महत्त्वका सडक आयोजनामा नेपाली सेनाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक लक्ष्य शतप्रतिशत पूरा गर्दै सडक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको छ।
कठिन हिमाली भूगोल, प्रतिकूल मौसम र सीमित स्रोतसाधनका बाबजुद सेनाले राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजनाहरूमा निर्माणलाई तीव्रता दिएको हो।
सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत जिम्मेवारी दिएका दुर्गम तथा चुनौतीपूर्ण सडक आयोजनामा नेपाली सेनाले नयाँ ट्र्याक निर्माण, स्तरोन्नति, आवश्यक पूर्वाधार विकास तथा निर्माण सम्पन्न भएपछि सडक विभागलाई हस्तान्तरणसम्मका काम गर्दै आएको छ।
यस्ता आयोजनाले दुर्गम बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्दै आर्थिक विकास, पर्यटन प्रवर्द्धन, विपद् व्यवस्थापन र राष्ट्रिय सुरक्षामा टेवा पुग्नेछ।
नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले दिएको जानकारी अनुसार पूर्वी नेपालको रणनीतिक महत्त्व बोकेको खाँदबारी-किमाथांका (च्याम्ताङ-घोङ्घप्पा) सडक आयोजनाअन्तर्गत सेनाले आफ्नो जिम्मेवारीमा रहेको १०.५१ किलोमिटर सडक निर्माण सम्पन्न गरी गत वैशाख २८ गते सडक विभागलाई हस्तान्तरण गरिसकेको छ।
हाल नेपाली सेनाले कर्णाली कोरिडोर, दार्चुला-टिङ्कर र बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक आयोजना निर्माण गरिरहेको छ।

महाकाली कोरिडोरअन्तर्गत पर्ने दार्चुला-टिङ्कर (तुषारपानी-टिङ्कर) सडक आयोजनामा सेनाले जिम्मेवारी पाएको ७९ किलोमिटरमध्ये आर्थिक वर्ष २०८२/८३ मा १९.८० किलोमिटर सडक निर्माण गर्दै वार्षिक लक्ष्य पूरा गरेको छ। यस आयोजनाको समग्र भौतिक प्रगति हाल २५.०६ प्रतिशत पुगेको छ।
यस्तै, मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक आयोजनामा सेनाले जिम्मेवारी पाएको ९२ किलोमिटरमध्ये हावाडाँडा-दोभान १८ किलोमिटर सडक खण्ड निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकेको छ। आयोजनाको समग्र भौतिक प्रगति ४०.८ किलोमिटर अर्थात् ४४.३५ प्रतिशत पुगेको छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली कोरिडोरमा पनि सेनाले उल्लेखनीय प्रगति गरेको छ। लालिबगर-दुल्लिकुन्ना सडक खण्डको ट्र्याक निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकिएको छ भने घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डमा निर्माण जारी छ। आर्थिक वर्ष २०८२/८३ मा १९ किलोमिटर सडक निर्माण गर्दै वार्षिक लक्ष्य पूरा भएको छ। यस आयोजनाको समग्र भौतिक प्रगति ८६.१७ प्रतिशत पुगेको छ। हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उद्देश्यले चुवा खोलामा बेलीब्रिज समेत जडान गरिएको छ।
हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट-डोल्पा, बेँशिसहर-चामे, कालिगण्डकी कोरिडोरलगायत ३२ वटा सडक आयोजना सम्पन्न भइसकेका छन्। ती आयोजनामार्फत कुल १ हजार ४११ दशमलव ५४ किलोमिटर सडक निर्माण गरिएको छ।
सबै तस्बिर : नेपाली सेना


