काठमाडौँ- नेपाली कांग्रेसभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘देश र कांग्रेस जोडौँ’ अभियानअन्तर्गत आगामी साउन २० गते बिहान ११ बजे काठमाडौँमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने भएको छ।
आयोजकले आइतबार गरेको पत्रकार सम्मेलनमा देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा विभिन्न तह, वर्ग र समुदायबाट प्रतिनिधित्व सुनिश्चित गर्दै उक्त भेला आयोजना गर्न लागिएको जानकारी दिइयो।
कांग्रेसभित्र लामो समयदेखि देखिएको मतभेद, अविश्वास र गुटगत प्रवृत्तिले पार्टी कमजोर बनेको उल्लेख गर्दै पार्टी एकता अहिलेको प्रमुख आवश्यकता भएको जनाइएको छ। कांग्रेस कमजोर हुँदा लोकतन्त्र पनि कमजोर हुने र लोकतान्त्रिक शक्तिहरू विभाजित हुने दाबी गर्दै पार्टी एकतालाई लोकतन्त्र र राष्ट्रिय हितसँग जोडिएको जिम्मेवारीका रूपमा व्याख्या गरिएको छ।
देश अहिले आर्थिक मन्दी, बेरोजगारी, युवापलायन, सुशासनको चुनौती तथा जनजीविकासम्बन्धी समस्याबाट प्रभावित भइरहेको उल्लेख गर्दै यस्ता राष्ट्रिय मुद्दामा सरकार प्रभावकारी बन्न नसकेको भन्दै जनस्तरमा असन्तुष्टि बढेको पनि वक्तव्यमा उल्लेख गरिएको छ।
कुनै व्यक्ति, गुट वा पक्षको हितका लागि नभई एकताबद्ध कांग्रेस, सुदृढ लोकतन्त्र र समृद्ध नेपाल निर्माणको साझा संकल्पका रूपमा अघि बढाइएको छ। पार्टीभित्र संस्थागत एकता मजबुत बनाउने, जनतासँगको सम्बन्ध पुनर्जीवित गर्ने तथा आगामी कार्ययोजना सार्वजनिक गरिने जानकारी पनि दिइएको छ।
आयोजकले नेपाली कांग्रेसका नेताकार्यकर्ता, शुभेच्छुक, लोकतन्त्रप्रेमी नागरिक तथा सञ्चारकर्मीलाई राष्ट्रिय एकता भेलामा सहभागी भई अभियानलाई सफल बनाउन आग्रह गरेको छ।


