सरकार र हिन्दुवादी मोर्चाबीच के भयो सहमति?

हिमाल प्रेस १६ साउन २०८३ २२:३९ | Saturday, August 1, 2026
16
SHARES
सरकार र हिन्दुवादी मोर्चाबीच के भयो सहमति?

काठमाडौँ- हिन्दु राष्ट्रलगायतका माग राख्दै संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे माग प्रस्तुत गरेको छ।

सुनसरी घटनाको विरोधमा विभिन्न हिन्दुवादी संघसंस्था सम्मलित संयुक्त हिन्दु मोर्चाले शनिबार जनकपुरधाममा भएको वार्ताका क्रममा गृहमन्त्री सुधन गुरुङसमक्ष १३ बुँदे माग प्रस्तुत गरेको हो।

वार्ताका क्रममा गृहमन्त्री गुरुङले हिन्दु राष्ट्रबारे छलफल गर्न तीन महिनाको समय माग गर्दै अन्य माग पूरा गर्ने सहमति जनाएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषा परिसरभित्र रहेको अधिकृत संगमको सभा कक्षमा अबेर रातिसम्म दुवै पक्षबीच वार्ता चलेको थियो। संयुक्त हिन्दु मोर्चाले सरकार पक्षसँग १३ बुँदे सहमति भएको जनाएको छ।

तर वार्ता समापनपछि सहमतिपत्र नभई मागपत्र सार्वजनिक गरिएको छ। वार्तामा सहभागीहरूको हस्ताक्षरसहित मागपत्र सार्वजनिक गरिएको हो।

हिन्दु सम्राट नेपालका महासचिव राकेश सनातनीले सरकार पक्षसँग सम्झौता नभएको बताएका छन्। उनले सम्झौता भनेर मागपत्रमा हस्ताक्षर गर्न लगाएको बताए।

‘१३ बुँदे सम्झौता भएको होइन, सम्झौता भएको भए सम्झौतापत्र देखाउनुपर्‍यो,’ हिमालप्रेससँग उनले भने,‘त्यो त मागपत्र हो, हामीले प्रस्तुत गरेको मागपत्रमा हस्ताक्षर गराएर सार्वजनिक गरिएको हो।’

उनले वार्ताका क्रममा आफ्ना प्रतिनिधिहरूको फोनमा कुरा गर्न नदिएको, फोन बन्द गर्न लगाएको, सहमतिपत्रमा नभई मागपत्रमा हस्ताक्षर गर्न लगाएको बताए।

आफूहरूको माग पूरा नभएकाले शान्तिपूर्ण प्रदर्शन जारी राख्ने उनले उल्लेख गरे।

यता वार्तामा सहभागी जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं रास्वपा नेता जितेन्द्र महासेठले सरकार र संयुक्त हिन्दु मोर्चाबीच सहमति भएको जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘नेपाल सरकार र संयुक्त हिन्दु मोर्चाबीच सहमति, भोलिदेखि सम्पूर्ण बन्दका कार्यक्रम फिर्ता।’

वार्तामा गृहमन्त्री गुरुङका साथै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, प्रदेशका गृहमन्त्री फकिरा महतो, रास्वपा सांसद मनिष झा, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, सुरक्षा निकायका प्रमुखहरूलगायतको उपस्थिति रहेको थियो।

सुनसरी घटनाको विरोधमा हिन्दुवादी संघसंस्थाहरूले प्रदर्शन गरेपछि स्थानीय प्रशासनले बिहीबार र शुक्रबार जनकपुरधाम क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। शनिबार भने कफ्र्यु फिर्ता लगाएर निषेधाज्ञा आदेश जारी गरिएको थियो।

प्रकाशित: १६ साउन २०८३ २२:३९ | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast