काठमाडौँ- सरकार र हिन्दुवादी संघ संंस्थाबीच जनकपुरधाममा दोस्रो चरणको वार्ता सुरू भएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषा परिसरभित्र रहेको अधिकृत संगमको कार्यकक्षमा दोस्रो चरणको वार्ता सुरू भएको हो।
दोस्रो चरणको वार्तामा प्रदेश सरकारको समेत उपस्थिति रहेको छ।
पहिलो चरणको वार्तामा गृहमन्त्री सुधन गुरुङले हिन्दुवादी संघ संगठनबीच वार्ता हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, सुरक्षा निकायका प्रमुखहरू सहभागी भएका थिए।
तर, दोस्रो चरणको वार्तामा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, प्रदेशका गृहमन्त्री फकिरा महतोलगायत सहभागी छन्।
पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि दोस्रो चरणको वार्ता सुरू भएको हो।
गृहमन्त्री गुरुङसँग भएको पहिलो चरणको वार्ताका क्रममा हिन्दुवादी संघ संस्थाका प्रतिनिधिहरूले आफ्नो मागबारे जानकारी गराएका थिए।
उनीहरूले हिन्दु राष्ट्र कायम गर्नुपर्ने, घाइतेलाई क्षतिपूर्ति दिनुपर्ने, ढुंगामुढा गर्ने मुस्लिममाथि कारबाही गर्नुपर्ने, लाउड स्पिकर बजाउन प्रतिबन्ध लगाउनुपर्नेलगायतका माग अघि सारेका छन्।
गृहमन्त्री गुरुङले धनुषाको समस्या समाधान नभएसम्म आफू जनकपुरधामबाट नजाने भन्दै सहमतिका लागि गम्भीर प्रयास गर्ने बताएका छन्।


