अशान्ति नियन्त्रणमा बालेनको सक्रियता : राष्ट्रका नाममा सम्बोधन, राष्ट्रपतिसँग भेट र उपराष्ट्रपतिसँग फोनवार्ता

हिमाल प्रेस १४ साउन २०८३ २२:०८ | Thursday, July 30, 2026
10
SHARES
अशान्ति नियन्त्रणमा बालेनको सक्रियता : राष्ट्रका नाममा सम्बोधन, राष्ट्रपतिसँग भेट र उपराष्ट्रपतिसँग फोनवार्ता

काठमाडौँ- सुनसरीको देवानगन्ज, सिरहालगायत जिल्लामा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन प्रधानमन्त्री वालेन्द्र शाहले एकै दिन तीनवटा पहल अघि बढाएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै संयम र सद्भावको अपिल गरेका प्रधानमन्त्री शाहले राष्ट्रपतिसँग भेट गरी सरकारका प्रयासबारे जानकारी गराउनुका साथै उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पनि टेलिफोन संवाद गर्दै वर्तमान परिस्थितिबारे छलफल गरेका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सुनसरीको देवानगन्ज र सिरहालगायत स्थानमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताए। घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे।

उनले कुनै एक स्थानको घटनालाई आधार बनाएर सिंगो समुदायलाई दोषी ठहर गर्नु वा प्रतिशोधका नाममा अन्यत्र हिंसा फैलाउनु न्यायोचित हुन नसक्ने स्पष्ट पारे। संविधानले प्रत्याभूत गरेको धर्म, संस्कृति र परम्पराको स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्य निकायलाई निर्देशन दिइसकिएको जानकारी दिँदै घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाए।

यसैबीच, देशका विभिन्न भागमा हिंसात्मक घटना बढेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई शीतलनिवास बोलाएर वर्तमान अवस्थाबारे जानकारी लिएका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारले गरिरहेका प्रयासबारे जानकारी गराएका थिए।

राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक परिस्थिति साम्य पार्न र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।

त्यसैगरी प्रधानमन्त्री शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पनि टेलिफोन संवाद गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार संवादमा मुलुकको वर्तमान अवस्था, आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचारविमर्श भएको थियो।

राष्ट्रका नाममा सम्बोधन, राष्ट्रपतिसँगको परामर्श र उपराष्ट्रपतिसँगको समन्वयात्मक संवादमार्फत प्रधानमन्त्री शाहले पछिल्ला घटनापछि सरकार शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सक्रिय रूपमा अघि बढिरहेको सन्देश दिन खोजेको देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast