काठमाडौँ- सुनसरीको देवानगन्जमा गत आइतबार भएको घटनाका कारण विभिन्न जिल्लामा प्रदर्शन चर्किँदै गएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। सुनसरी, धनुषा र सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ भने पर्साको वीरगन्जमा निषेधाज्ञा लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार गोलबजार र लहान क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। गोलबजार नगरपालिकाको केही क्षेत्रमा दिउँसो कर्फ्यु लागू गरिएको थियो भने लहानमा तनाव बढेपछि अपराह्न ४ बजेदेखि कर्फ्यु विस्तार गरिएको हो।
गोलबजारमा पूर्वपश्चिम राजमार्गअन्तर्गत वडा नं. ३ को कसहा खोलादेखि पश्चिम चोहर्वा चोकसम्म, उत्तरमा वडा नं. ६ को सैनिक चोकदेखि दक्षिणमा वडा नं. ४ स्थित क्याम्पस क्षेत्रसम्म कर्फ्यु लागू गरिएको छ।
लहान नगरपालिकामा पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम)सम्म, उत्तरतर्फ खुट्टी खोलासम्म र दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गको करिब ५०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
गोलबजारमा बिहीबार बिहानदेखि तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो। कर्फ्यु कार्यान्वयनका लागि नेपाली सेना समेत परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिका, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकामा बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार सुनसरी घटनाको विरोधमा जनकपुर र आसपासका क्षेत्रमा प्रदर्शन उग्र बनेपछि कर्फ्यु आदेश जारी गरिएको हो।
कर्फ्युको सीमा उत्तरमा लक्ष्मीनिया हाटबजार चोक हुँदै सिनुरजोडा चोकसम्म, पूर्वमा लक्ष्मीपुर बगेवासम्म, दक्षिणमा नगराइन नगरपालिका क्षेत्र र पश्चिममा सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल हुँदै कादरी मस्जिद क्षेत्रसम्म तोकिएको छ।
सुनसरीमा कर्फ्यु यथावत्
सुनसरीका १० स्थानीय तहमा मंगलबार रातिदेखि लागू गरिएको कर्फ्यु बिहीबार पनि निरन्तर राखिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार राति ९ बजेदेखि जारी आदेश कायम रहनेछ।
सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गए पनि मृतकका परिवारसँग सहमति हुन नसकेकाले कर्फ्यु हटाइएको छैन। प्रशासन र पीडित परिवारबीच पाँच दिनदेखि निरन्तर छलफल भइरहे पनि सहमति जुट्न नसक्दा मृतकको शव अझै अस्पतालमै राखिएको छ।
परिवारले मृतकलाई सहिद घोषणा गर्न, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाका दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान कायम राखेका छन्। प्रशासनले नागरिकलाई कर्फ्युको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न र शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले सम्भावित तनावलाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाको मुख्य तथा संवेदनशील क्षेत्रमा शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी आदेश जारी गरेका हुन्।
निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य सामूहिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।
निषेधाज्ञा लागू गरिएको क्षेत्र पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म सीमित गरिएको छ। प्रशासनले सर्वसाधारणलाई संयमता अपनाउन, अफवाहबाट टाढा रहन र शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न अपिल गरेको छ।


