बालेनलाई प्रचण्डको चेतावनी : अहंकार नत्यागे दुर्भाग्य हुनेछ

हिमाल प्रेस १४ साउन २०८३ १४:०९ | Thursday, July 30, 2026
6
SHARES
बालेनलाई प्रचण्डको चेतावनी : अहंकार नत्यागे दुर्भाग्य हुनेछ

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई अनुभवी नेताहरू र विज्ञहरूको ज्ञान एवं अनुभवलाई आत्मसात गर्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको बिहीवारको बैठकमा सम्बोधन गर्दै उहाँले मुलुकका जटिल समस्या समाधानका लागि पुराना र अनुभवी नेताहरूसँगको संवाद अपरिहार्य रहेको बताए।

बैठकलाई सम्बोधन गर्दै दाहालले मुलुकमा विभिन्न कालखण्डका उतारचढाव झेलेका, लोकतन्त्रका लागि झन्डै सात दशकदेखि जेलनेल र यातना भोगेका एवं अप्ठ्यारा परिस्थितिमा निकास दिन सक्ने क्षमतावान् नेताहरूको ठूलो पंक्ति रहेको उल्लेख गरे। उनले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि ती अनुभवहरू महत्वपूर्ण हुने बताए। दाहालले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै ‘आफू मात्रै पर्याप्त छु’ भन्ने सोच र अहंकारले काम गरेको भए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने टिप्पणी गरे।

उनले नेपाली कांग्रेस, नेकपा एमालेलगायतका राजनीतिक दलहरूसँग रहेका संघर्षका अनुभवहरू वर्तमान सरकारका लागि मार्गदर्शक र सहयोगी सिद्ध हुनसक्ने धारणा राखे। प्रतिपक्षलाई अवमूल्यन गर्ने, अपमानित गर्ने र संवादबाट टाढा भाग्ने प्रवृत्तिले अन्ततः राष्ट्र, जनता र स्वयं सरकारलाई नै संकटमा पार्ने उनको चेतावनी छ।

उनले भने, ‘म यो रोस्ट्रमबाट विशेषगरी प्रधानमन्त्री बालेन शाहज्यूलाई एउटा कुरा भन्न चाहन्छु। नेपालमा विगतका अनेकौँ राजनीतिक उतारचढाव पार गरेका अनुभवी नेता, बुद्धिजीवी र विज्ञहरूको ठूलो पंक्ति छ । कठिन परिस्थितिमा देशलाई निकास दिने क्षमता भएका, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि निरन्तर संघर्ष गरेका तथा लोकतन्त्रका लागि झन्डै ७० वर्षसम्म जेल, यातना र बलिदान सहेका नेताहरूको अनुभव हाम्रो सम्पत्ति हो। उहाँहरूको अनुभव लिन, संवाद गर्न र सहकार्य गर्न प्रधानमन्त्रीलाई केले रोकेको होला भन्ने प्रश्न उठ्छ। मलाई पनि एकपटक बोलाएर, तपाईंले पनि भ्रष्टाचारविरुद्ध अभियान शुरु गर्नुभएको थियो, सफल हुन केले दिएन ? भनेर सोध्न सकिन्थ्यो । अनुभवबाट सिक्न किन हिचकिचाउनु? यदि म आफैँ पर्याप्त छु, मलाई कसैको आवश्यकता छैन भन्ने अहंकारले यस्तो भइरहेको हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । नेपाली कांग्रेस, नेकपा एमालेलगायत अन्य राजनीतिक दलहरूसँग पनि लामो संघर्ष र शासन सञ्चालनका महत्त्वपूर्ण अनुभव छन्। ती अनुभव सरकारका लागि उपयोगी हुन सक्छन्। त्यसैले अनुभव लिन र संवाद गर्न कञ्जुस्याइँ गर्नु हुँदैन। जति उदारतापूर्वक सहकार्य गर्न सकियो, त्यति नै देश, जनता र सरकारकै हित हुन्छ । सरकार जति संवादबाट टाढा जान्छ, प्रतिपक्षलाई अवमूल्यन वा अपमानित गर्छ, वा समाजका कुनै वर्ग, तह वा समुदायलाई बेवास्ता गर्छ, त्यति नै राष्ट्र, जनता र हामी सबै अप्ठ्यारोमा पर्न सक्छौँ । यही कुरातर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रकाशित: १४ साउन २०८३ १४:०९ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast