काठमाडौँ- दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले जारी गरेको सूचनाअनुसार आजदेखि (साउन १४ गतेदेखि २२ गते) सम्म सेवा दुई सिफ्टमा उपलब्ध गराइनेछ।
विभागका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ।
यस्तै, सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदाका दिन, शनिबार र आइतबारसमेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विद्युतीय राहदानीसम्बन्धी सेवा उपलब्ध गराइने विभागले जनाएको छ।
दक्षिण कोरियाको ईपीएस आवेदन प्रक्रियासँगै राहदानी बनाउने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेपछि सेवा प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ।
नेपाली नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न विभाग प्रतिबद्ध रहेको सूचनामा उल्लेख गरिएको छ।


