विराटनगर- विराटनगर विमानस्थलबाट काठमाडौँ पठाउन लागिएको पार्सलबाट प्रहरीले १८.४८ ग्राम ब्राउन सुगर बरामद गरेको छ।
बुधबार साँझ एक्सपो एक्सप्रेस कुरियरमार्फत पठाउन लागिएको स्पोर्ट्स जुत्ताको सोलभित्र लुकाएर राखिएको अवस्थामा एक्स-रे जाँचका क्रममा लागुऔषध फेला परेको मोरङ प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा विराटनगर-५ का २४ वर्षीय सुशान्त खड्का पक्राउ परेका छन्। उनी पार्सल विमानस्थल पुर्याउन पुगेका थिए।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उक्त पार्सल विराटनगरका राघव झाले काठमाडौँ पठाउन दिएको खुलेको छ।
उनको खोजी भइरहेको र पक्राउ परेका खड्कामाथि थप अनुसन्धान जारी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले बताएका छन्।
प्रकाशित: १४ साउन २०८३ १०:१९ | Thursday, July 30, 2026
प्रतिक्रिया


