सामाजिक सद्भाव र शान्तिको अपिल गर्दै ७ बुँदे सर्वदलीय वक्तव्य जारी, सरकारलाई गराइयो ध्यानाकर्षण

हिमाल प्रेस १३ साउन २०८३ १२:१५ | Wednesday, July 29, 2026
8
SHARES
सामाजिक सद्भाव र शान्तिको अपिल गर्दै ७ बुँदे सर्वदलीय वक्तव्य जारी, सरकारलाई गराइयो ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले सुनसरीमा विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकताको पक्षमा ७ बुँदे संयुक्त वक्तव्य जारी गरेको छ।

पछिल्ला घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

बैठकले नेपालको विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई कायम राख्न सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरेको छ।

कुनै पनि प्रकारका उक्साहटपूर्ण गतिविधि तथा सामाजिक विभाजन निम्त्याउने कार्य नगर्न अपिल गर्दै समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिमार्फत खोज्नुपर्नेमा जोड दिइएको छ।

प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई समुदायस्तरसम्म विस्तार गर्न सम्बन्धित पार्टी संरचनालाई निर्देशन दिइएको छ।

स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज तथा प्रशासनसँग सहकार्य गर्दै शान्ति र विश्वासको वातावरण निर्माण गर्न पनि आग्रह गरिएको छ।

त्यसैगरी सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह, भ्रामक सूचना र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहन सबै नागरिक तथा सञ्चारमाध्यमलाई जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ।

संयुक्त वक्तव्यमार्फत सरकारको ध्यानाकर्षण गराउँदै नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।

राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिको संरक्षणका लागि सबै राजनीतिक दलहरू एकताबद्ध रहेको वक्तव्यमा उल्लेख गर्दै समस्या समाधानका लागि सरकार र समाजसँग आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको जनाइएको छ।

उक्त संयुक्त वक्तव्यमा रास्वपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत तथा जसपा नेपालका नेता प्रकाश अधिकारीले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १३ साउन २०८३ १२:१५ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast