विपद्को बेला सबै एकजुट हुनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष

हिमाल प्रेस १६ भदौ २०८३ १७:५४ | Tuesday, September 1, 2026
विपद्को बेला सबै एकजुट हुनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष

काठमाडौँ- विपद्को वर्तमान परिस्थितिमा राजनीतिक दलहरू विभाजित नभई एकजुट भएर उद्धार, राहत र पुनःस्थापनामा लाग्नुपर्ने निष्कर्ष सर्वदलीय बैठकले निकालेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा मंगलबार सिंहदरबारमा बसेको  बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा नेता ज्ञानबहादुर शाहीले नेपालले भोगिरहेको विपत्तिमा राजनीतिक दलहरू विभाजित नभई एकजुट भएर लाग्नुपर्ने निष्कर्ष बैठकले निकालेको बताए।

सांसद समेत रहेका शाहीले नेपाल आफ्नै कारणले नभई बढी कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूको प्रभावका कारण भीषण बाढीको अवस्था उत्पन्न भएको बताए।

उनले जलवायु परिवर्तनबाट नेपालले व्यहोरेको क्षतिको क्षतिपूर्ति माग गर्दै अन्तर्राष्ट्रिय तहमा पहल गर्नुपर्ने धारणा राखे।

उनका अनुसार संसद्‌‌बाट प्रस्ताव पारित गरेर अन्तर्राष्ट्रिय अदालत, संयुक्त राष्ट्रसंघ वा अन्य अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपालको हकदाबी प्रस्तुत गर्नुपर्ने आवश्यकता छ।

शाहीले बैठकमा सुरुङमा फसेकाहरूको उद्धार, राहत वितरण र विपद् व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको जानकारी दिए।

उनले संकटको समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर सरकारलाई सहयोग गर्नुपर्नेमा सबैको जोड रहेको बताए।

उनका अनुसार संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी समन्वय गर्दै विपद् व्यवस्थापनका कामलाई तीव्र बनाउनुपर्ने विषय पनि बैठकमा उठाइएको थियो।

मंगलबारको बैठकमा विभिन्न पार्टीका दोस्रो तथा तेस्रो तहका नेताहरू उपस्थित थिए भने यसअघि बाढीकै बीच सभापति लामिछानेकै आह्वानमा बसेको सर्वदलीय बैठकमा शीर्ष नेताहरू उपस्थित थिए।

प्रकाशित: १६ भदौ २०८३ १७:५४ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast