काठमाडौँ- नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामना गरेको छ।
कांग्रेसले शोक सन्तप्त परिवार, आफन्तजन तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यो अपूरणीय क्षति सहने धैर्य, शक्ति र साहस प्राप्त होस् भन्ने कामना गरेको छ।
७९ वर्षीय श्रेष्ठको हिजो मंगलबार ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
कांग्रेसले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरेको छ। पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्ने क्रममा उनले पटक–पटक गरी करिब ६ वर्ष जेल जीवनसमेत बिताएको कांग्रेसले जनाएको छ।
आजको बैठकले शोक कार्यक्रमअन्तर्गत साउन १३, १४ र १५ गते तीन दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। साथै, साउन १४ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म शोक पुस्तिका राख्ने तथा १३औँ दिन स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी शोकसभा आयोजना गर्ने निर्णय पनि गरेको छ।


