काठमाडौँ- सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनापछि राष्ट्रिय राजनीतिक वृत्तमा सरकारको भूमिकाबारे बहस तीव्र बनेको छ।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संकटका बेला सामाजिक सञ्जालमा धारणा राखेर मात्र नपुग्ने बताएका छन्।
थापाले शान्ति स्थापना र विश्वास निर्माणका लागि प्रधानमन्त्रीले सबै राजनीतिक दल, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गर्दै साझा पहल गर्नुपर्ने धारणा राखे।
उनका अनुसार सरकार संकटका बेला सुरक्षा कारबाहीमा मात्र सीमित नभई राजनीतिक नेतृत्व र अभिभावकीय भूमिका निर्वाह गर्न सक्षम हुनुपर्छ।
उनले भूकम्प र कोभिड महामारीका बेला तत्कालीन सरकारले सर्वदलीय सहकार्यको अभ्यास गरेको स्मरण गराउँदै अहिले पनि त्यही प्रकारको संवाद र सहमतिको आवश्यकता रहेको बताए।
सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक आयोजना गरिएको थियो।


