काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही हुने प्रतिबद्धता जनाएका छन्।
मंगलबार राति साढे ११ बजे सामाजिक सञ्जाल फेसबकुमा पोस्ट गर्दै प्रधानमन्त्री शाहले सुनसरीको घटनाले समाजमा भय, अविश्वास र अशान्ति सिर्जना गरेको भन्दै यस्ता घटना पुनः दोहोरिन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको बताएका छन्।
प्रधानमन्त्री शाहले सरकारले यथाशीघ्र न्याय र क्षतिपूर्ति उपलब्ध गराउने तथा घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिने विश्वास दिलाएका छन्। उनका अनुसार घटनाको सुरुवातदेखि नै सरकार सक्रिय भए पनि भएका प्रयास पर्याप्त नभएको निष्कर्षसहित समग्र घटनाको गम्भीर समीक्षा भइरहेको छ।
उनले सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु र घाइते हुनु कुनै पनि दृष्टिले सामान्य विषय नभएको उल्लेख गर्दै त्यसबारे अनुसन्धान सुरु भइसकेको र दोषी देखिएकामाथि कानुनी कारबाही गरिने स्पष्ट पारे।
प्रधानमन्त्री शाहले सरकारले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्दै पीडितलाई न्याय दिलाउने दायित्व पूरा गर्ने प्रतिबद्धता दोहोर्याउँदै मृतकका परिवार र घाइतेलाई न्यायको अनुभूति गराउन सम्पूर्ण शक्ति लगाइने बताए।
साथै उनले अनुसन्धान प्रक्रिया टुंगिनुअघि सबैलाई संयमित रहन आग्रह गर्दै आक्रोश, बदलाको भावना र उत्तेजनाबाट टाढा रहन तथा सामाजिक सद्भाव, प्रेम र आपसी सम्मान कायम राख्न अपिल गरेका छन्। प्रधानमन्त्री शाहले मानवताको पहिलो धर्म मानिसको जीवन जोगाउनु भएको उल्लेख गर्दै समाजमा शान्ति र सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।
उनले घटनाबाट मर्माहत भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारको पीडा आफूले महसुस गरेको बताएका छन्।
आइतबार राति देवानगन्ज–३ कप्तानगन्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर ९ जना गम्भीर घाइते भएका छन् भने १४ जना प्रहरी पनि घाइते भएका थिए।
घटनापछि सोमबार सुनसरीको दक्षिणी क्षेत्रमा दिनभर कर्फ्यु लगाइएको थियो। घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरी अनुसन्धान सुरु गरेको छ। यसैगरी गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतलाई अन्यत्र सरुवा गरेको छ। मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई खटाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक(एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ल खटाइएको छ।
सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई फिर्ता बोलाइएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ।
प्रदर्शन हिंसात्मक बन्दै गएपछि मंगलबार पनि जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजदेखि इटहरीको पकलीचोकसम्म कर्फ्यु आदेश जारी गरेको छ।


