काठमाडौँ- नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट विधान संशोधन गर्दै केन्द्रीय विभागसम्बन्धी व्यवस्था परिवर्तन गरेको छ।
संशोधित विधानको धारा ३७ (१) (क) अनुसार अब केन्द्रमा आवश्यकताअनुसार केन्द्रीय विभाग गठन गरिने व्यवस्था गरिएको छ। यससँगै साविक विधानमा उल्लेख रहेको २८ वटा विभागको निश्चित संख्या हटाइएको छ।
यसअघि प्रत्येक विभागमा अधिकतम ५१ सदस्य रहने व्यवस्था रहेकामा अब बढीमा २५ जना सदस्य रहने प्रावधान राखिएको छ।
संशोधित व्यवस्थाअनुसार केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, सचिव र सदस्य नियुक्त गर्ने अधिकार पाएका छन्।
उपप्रमुख, सचिव र सदस्य बन्न पार्टीका क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था गरिएको भए पनि विभाग प्रमुखको योग्यताबारे भने विधानमा उल्लेख गरिएको छैन।
साविक विधानमा विभाग प्रमुख केन्द्रीय कार्यसमितिका सदस्य हुनुपर्ने स्पष्ट व्यवस्था थियो।
कांग्रेसले धारा ३६ (ग) पनि संशोधन गर्दै केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्य संख्या ५१ बाट बढाएर अधिकतम ६१ पुर्याएको छ।
प्रतिष्ठान प्रमुखले केन्द्रीय सभापतिसँग परामर्श गरी प्रदेश कार्यसमितिका सभापतिले तोकेको प्रदेश उपसभापति तथा क्रियाशील सदस्यहरूमध्येबाट सदस्य नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ।


