गृह मन्त्रालय
काठमाडौँ- सरकारले सुनसरीको देवानगन्जमा भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव रहेका छन्।
समितिलाई घटनाबारे अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसमेत प्रतिवेदनमा समावेश गरिनेछ।
देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा दुई समूहबीच भएको विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि सुनसरीमा तनाव बढेको छ। अवस्था नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
यस घटनापछि गृहमन्त्री सुधन गुरुङले सोमबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए। सोही छलफलपछि छानबिन समिति गठन गरिएको हो।


