नेपाल टेलिकमको मनसुन अफर सार्वजनिक, नयाँ डाटा र पोस्टपेड प्याकेज थप

हिमाल प्रेस १२ साउन २०८३ १३:२१ | Tuesday, July 28, 2026
6
SHARES
नेपाल टेलिकमको मनसुन अफर सार्वजनिक, नयाँ डाटा र पोस्टपेड प्याकेज थप

काठमाडौँ- नेपाल टेलिकमले ‘मनसुन अफर २०८३’ सार्वजनिक गर्दै पोस्टपेड र प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि नयाँ आकर्षक प्याकेज तथा थप सुविधासहितका सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार अफर सोमबार (साउन १२) देखि लागू भएको हो।

टेलिकमले पोस्टपेड ग्राहकका लागि ३७३ रुपैयाँ र ४९९ रुपैयाँका नयाँ प्याकेज ल्याएको छ। ३७३ रुपैयाँको प्याकमा ३० दिनका लागि ६ जीबी डाटा, ४०० मिनेट अल-नेट भ्वाइस कल र ५० एसएमएस उपलब्ध हुनेछ भने ४९९ रुपैयाँको प्याकमा १० जीबी डाटा, ५०० मिनेट अल-नेट भ्वाइस कल र १०० एसएमएसको सुविधा दिइनेछ।

सजिलो अनलिमिटेड पोस्टपेड प्याकेजलाई पनि थप परिमार्जन गरिएको छ। ६९९, ७९९, ९९९, १,४९९ र १,९९९ रुपैयाँका प्याकमा अनलिमिटेड भ्वाइस, उच्च क्षमताको डाटा तथा एसएमएस सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। सबैभन्दा ठूलो १,९९९ रुपैयाँको एक्जिक्युटिभ प्याकमा अनलिमिटेड भ्वाइस, अनलिमिटेड डाटा र ५०० एसएमएस सुविधा समावेश गरिएको छ।

प्रिपेड ग्राहकका लागि पनि ९९ रुपैयाँमा १ दिनका लागि ८ जीबी डाटा र १९९ रुपैयाँमा ७ दिनका लागि २० जीबी डाटा प्याक थपिएको छ। सजिलो अनलिमिटेड प्रिपेड प्याकलाई अझ आकर्षक बनाउँदै ९९९ र १,४९९ रुपैयाँका प्याकमा बढी डाटा र एसएमएस सुविधा उपलब्ध गराइएको छ।

कम्पनीले स्वतः नवीकरण हुने ‘नमस्ते रिकरिङ’ सेवामा ६९९ रुपैयाँको नयाँ प्याक थप्नुका साथै कर्पोरेट युजर ग्रुप (CUG) का लागि पनि नयाँ प्याकेज सार्वजनिक गरेको जनाएको छ।

यस्तै, नमस्ते क्रेडिट (सापटी) सेवामा पनि परिमार्जन गरिएको छ। साउन १५ गतेदेखि लागू हुने गरी सापटी रकम ३० रुपैयाँ कायम गरिएको छ। उक्त रकमबाट ३० रुपैयाँ वा सोभन्दा कम मूल्यका डाटा, भ्वाइस तथा एसएमएस प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

नेपाल टेलिकमका अनुसार ग्राहकले *१४१५# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपमार्फत प्याकेज सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्। कम्पनीको वेबसाइटमार्फत पनि अफरबारे विस्तृत जानकारी उपलब्ध रहेको जनाएको छ।

प्रकाशित: १२ साउन २०८३ १३:२१ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast