काठमाडौँ- केप भर्डेका सिड्नी लोपेज काब्रालले गरेको गोल फिफा विश्वकप २०२६ को उत्कृष्ट घोषित भएको छ । काब्रालले अन्तिम ३२ मा साबिक विजेता अर्जेन्टिनाविरुद्ध सानदार गोल गरेका थिए ।
विश्वभरका फुटबल प्रशंसकको मत र फिफाको प्राविधिक अध्ययन समूहको मूल्यांकनका आधारमा काब्रालको उक्त गोललाई प्रतियोगिताको सर्वोत्कृष्ट घोषित गरिएको फिफाले जनाएको छ ।
काब्रालले उज्वेकिस्तानका एल्डोर शोमुरोडोभ र हाइटीका विल्सन इसिडोरको गोललाई पछि पारेका हुन् । एल्डरको गोल दोस्रो र इसिडोरको तेस्रो स्थानमा रहेको फिफाले जनाएको छ ।
अर्जेन्टिनाले केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले हराएको थियो । तर, खेलको सबैभन्दा रोमाञ्चक क्षण काब्रालको गोल नै थियो ।
केप भर्डे २–१ ले पछि परेको अवस्थामा काब्रालले १०३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उनले म्याक एलिस्टरलाई छलाउँदै पेनाल्टी बक्सको एजबाट टप कर्नरमा प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो।


