यस्तो छ नेपालमा सुरुङमार्गको इतिहास

हिमाल प्रेस ११ साउन २०८३ १२:३८ | Monday, July 27, 2026
14
SHARES
यस्तो छ नेपालमा सुरुङमार्गको इतिहास पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सोमबार नागढुंगा सिस्ने खोला सुरुङ मार्ग उद्घाटनपश्चात सुरुङभित्र गाडी चलाउँदै।। तस्बिर : रासस

काठमाडौँ- नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपालले आधुनिक सडक सुरुङमार्गको युगमा औपचारिक प्रवेश गरेको छ। नेपालमा सुरुङ निर्माणको इतिहास भने सयौँ वर्ष पुरानो रहेको विभिन्न अध्ययनले देखाएका छन्।

इतिहासअनुसार मुस्ताङ जिल्लामा करिब दुई हजार वर्ष पुराना भूमिगत संरचना भेटिएका छन्। ती संरचना बसोबास र चिहान प्रयोजनका लागि निर्माण गरिएको जनविश्वास रहेको छ। त्यसैगरी करिब ४०० वर्षअघि पाल्पाको अर्गेलीमा सिँचाइका लागि सुरुङ निर्माण गरिएको थियो जुन अहिले पनि प्रयोगमा रहेको बताइन्छ।

आधुनिक सुरुङ निर्माणतर्फ भने तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा १९७५ सालमा मकवानपुरको चुरियामाईमा करिब ५०० देखि ६०० मिटर लामो सुरुङमार्ग निर्माण गरिएको थियो। उक्त सुरुङबाट साना चारपाङ्ग्रे सवारीसाधनसमेत सञ्चालन गरिएको उल्लेख छ।

स्विट्जरल्यान्डका भूगर्भविद् टोनी हेगनले आफ्नो पुस्तक द हिमालयन किङ्डम अफ नेपाल मा चुरियामाईको सुरुङलाई एसियाकै पहिलो मानव निर्मित सुरुङ हुनसक्ने दाबी गरेका छन्। उक्त सुरुङ नेपाली डिजाइन, लगानी र जनशक्तिबाट निर्माण गरिएको मानिन्छ।

नेपालमा पछिल्ला वर्षहरूमा जलविद्युत्, खानेपानी, सिँचाइ तथा सडक पूर्वाधारमा सुरुङ निर्माणको क्रम तीव्र बनेको छ। नेपाल टनेलिङ एसोसिएसनका पूर्वअध्यक्ष डा.ज्ञानेन्द्रलाल श्रेष्ठका अनुसार सन् २०२६ जनवरीसम्म नेपालमा सबै प्रकारका गरेर ५३७ किलोमिटर सुरुङ निर्माण भइसकेको छ। यसमध्ये ४५४ किलोमिटर जलविद्युत् आयोजनामा निर्माण गरिएको छ भने करिब २५० किलोमिटर सुरुङ निर्माणाधीन अवस्थामा छन्।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सिन्धुपाल्चोकको अम्बाथानदेखि काठमाडौँको सुन्दरीजलसम्म २६ किलोमिटर लामो सुरुङ नेपालको सबैभन्दा लामो सञ्चालनमा रहेको उनले बताए।

खानेपानी आयोजनामा करिब ३० किलोमिटर, ढल निकासतर्फ ०.५२ किलोमिटर, सडकतर्फ २३ किलोमिटर, खानीतर्फ ०.०२ किलोमिटर तथा सङ्ग्रहालय प्रयोजनका लागि ३०० मिटर सुरुङ निर्माण भइसकेको छ।

सिँचाइतर्फ भेरी-बबई बहुउद्देश्यीय आयोजनामा पहिलोपटक अत्याधुनिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरेर सुरुङ निर्माण गरिएको थियो। पछिल्लो समय सुनकोशी-मरिण बहुउद्देश्यीय आयोजनामा पनि यही प्रविधि प्रयोग गरिएको छ।

नेपाल टनेलिङ एसोसिएसनका पूर्वअध्यक्ष डा.श्रेष्ठले भने,‘नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको छ। अहिले सिद्धबाबा तथा काठमाडौँ-तराई/मधेश द्रुतमार्गअन्तर्गतका सुरुङमार्ग निर्माण भइरहेका छन्।’

प्रकाशित: ११ साउन २०८३ १२:३८ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast