नागढुंगा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई मात्र अनुमति (तस्बिरहरू)

हिमाल प्रेस ११ साउन २०८३ १०:५८ | Monday, July 27, 2026
10
SHARES
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई मात्र अनुमति (तस्बिरहरू)

काठमाडौँ- नागढुंगा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा.तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन्।

आयोजनाका अनुसार सुरुङमार्ग सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनका लागि मात्रै खुला रहनेछ। करिब तीन महिनाको परीक्षण अवधिपछि सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकन गरी अन्य सवारीलाई पनि चरणबद्ध रूपमा सञ्चालन अनुमति दिइनेछ।

परीक्षण अवधिभर कुनै शुल्क लाग्ने छैन। नियमित सञ्चालनपछि कार, भ्यान, बस र ट्रकलगायत सवारीसाधनबाट तोकिएको शुल्क असुल गरिनेछ। मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे तथा ज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ।

करिब ८० महिनापछि सञ्चालनमा आएको यो सुरुङमार्ग चन्द्रागिरिको दहचोक टोटीपाखादेखि धादिङको सिस्नेखोलासम्म जोडिएको छ। यसले नागढुंगा सडकखण्डको जाम र घुमाउरो बाटो घटाउँदै यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ।

जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानीमा करिब २५ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो आयोजना कोभिड–१९ महामारी र प्राविधिक जटिलताका कारण निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।

प्रकाशित: ११ साउन २०८३ १०:५८ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast