प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक

हिमाल प्रेस ११ साउन २०८३ ८:०२ | Monday, July 27, 2026
16
SHARES
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक

काठमाडौँ- अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको पहिलो चलचित्र ‘मास्टर्नी’को टिजर सार्वजनिक गरिएको छ। टिजरले आमा र छोरीको भावनात्मक सम्बन्ध तथा छोरीको रक्षाका लागि आमाले गर्ने सङ्घर्षलाई देखाएको छ। टिजरबाट एक आमाले आफ्नी छोरी बचाउन कुन हदसम्म कदम चाल्न सक्छिन् भन्ने कथा प्रस्तुत भएको अनुमान गर्न सकिन्छ।

क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा जनरामा निर्मित यस चलचित्रको टिजरमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापा लगायतका कलाकारहरू देखिएका छन्। आयंका फिल्मसको प्रस्तुति रहेको यस चलचित्रलाई सुवेन्दु घोषले निर्देशन गरेका हुन्।

चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा तयार पारेका हुन्। सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार चलचित्रका कार्यकारी निर्माता हुन्। भारतीय प्राविधिक टिमले काम गरेको यस चलचित्रको पोस्ट प्रोडक्सनको काम नेपाल र भारत दुवै स्थानमा भइरहेको छ।

चलचित्रको कथा स्वयं प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका हुन्। संवाद लेखनमा प्रियंका र शानले सहकार्य गरेका छन्। युवराज इन्दोरियाको छायाङ्कन तथा राजा सिंह सिदुको सम्पादन रहेको यो चलचित्र आगामी भदौ ५ गतेबाट प्रदर्शनमा आउँदैछ।

चलचित्रमा रोहित शाक्यको सङ्गीत र त्रिशाला गुरुङको गायन रहेको छ भने यसलाई नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ।

प्रकाशित: ११ साउन २०८३ ८:०२ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast