नेपाली कांग्रेसका सभापति गगन थापा/फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले साउन तेस्रो साता पार्टीमा सहमति जुट्ने बताएका छन्।
पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको भेटमा सभापति थापाले साउन तेस्रो साता पार्टीमा सहमतिले सार्थकता पाउने बताएका हुन्।
नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाको नेतृत्वमा पार्टीबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिहरू एकताका लागि दबाब दिने उद्देश्यले आइतबार सभापति थापासँग भेट गरेका थिए।
छलफलका क्रममा थापाले वर्तमान चुनौती सामना गर्न पनि पार्टी एकता अपरिहार्य रहेको बताएका थिए। ‘अहिलेको चुनौती सामना गर्न पनि पार्टी एकता अपरिहार्य छ। एकतामा असर पर्ने काम कसैले गर्न हुँदैछ,’ सभापति थापाले भनेका थिए।
उनीहरूले नियमित महाधिवेशन पक्षधरले साउनमा गर्न लागेको राष्ट्रिय भेला रोक्न पहल गर्न सभापति थापासँग आग्रह गरेका थिए।
सभापति थापाले संवादका माध्यमबाट सहमति जुटाउन असन्तुष्ट नेताहरूसँग छलफलका लागि दुई जनाको नाम मागिएको बताए। संवादका लागि चाँडै चार सदस्यीय कार्यदल बनाउने तयारी भइरहेको उनको भनाइ थियो।
केन्द्रीय समिति बैठक धकेलेर भए पनि सहमतिको प्रयास थालिएको सभापति थापाको भनाइ रहेको भेटमा सहभागी नेताहरूले बताएका छन्।
पार्टी एकताका लागि विगत केही दिनदेखि शीर्ष नेताहरूलाई भेटेर दबाब दिइरहेको समूहले आइतबार सभापति थापासँग छलफल गरेको थियो।
भेटका क्रममा स्थानीय तहका जनप्रतिनिधिले पार्टी एकताविना गाउँमा जनातालाई आशावादी बनाउन नसिकने र पार्टीको साख फर्काउन नसिकने बताएका थिए।
उनीहरूले तत्काल पार्टी एकता गरेर आमजनतामा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिइएको भेटमा सहभागी शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिए।
सभापति थापाले पार्टी एकता सहमतिमा भई कांग्रेस एक हुनेमा आश्वस्त तुल्याएको तिलागुफा नगरपालिकाका नगरप्रमुख शंकर उपाध्यायले बताए।
भेटमा संघका अध्यक्ष ढुंगाना, गाउँपालिका महासंघका उपाध्यक्ष लक्ष्मण शाही, हलेसी नगरपालिकाका नगरप्रमुख विमला राई, चरिकोट नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने, कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्की, तिलागुफाका नगरप्रमुख उपाध्याय, शारदा नगरपालिकाका नगरप्रमुख भण्डारी, तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जन, दबाब अभियान प्रचारप्रसार समितिका संयोजक सरोज अधिकारीलगायतको सहभागिता थियो।


