काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप निगरानी र रोकथाम गर्न निर्देशन दिएका छन्।
लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीका सीमा क्षेत्रको अवलोकनपश्चात उनले सीमा अपराध नियन्त्रण तथा राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन दिएका हुन्।
कार्यक्षेत्रमा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीले सकारात्मक सोच र फरक कार्यशैली अपनाई पूर्ण जिम्मेवारी र बफादारिताकासाथ काम गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक पौडेलले भने, ‘असल मनसायका साथ गरिएको कामकारबाहीमा भएको कमीमजोरीको जिम्मा संगठनले लिनेछ।’
महानिरीक्षक पौडेलले सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रणमा निर्मम ढंगले लाग्न र कुनै पनि आर्थिक प्रलोभनमा नपर्न निर्देशन दिए।
उनले बाढी, पहिरो र डुबान जस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुनसक्ने गरी तालिम प्राप्त जनशक्तिलाई आवश्यक उद्धारका सामग्रीसहित तयारी अवस्थामा रहन निर्देशन दिए।


