काठमाडौँ- यसवर्षको छिन्नलता गीत रचना पुरस्कार डा. नवराज लम्साललाई प्रदान गरिएको छ।
छिन्नलता गीत पुरस्कार गुठीद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले लम्साललाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका हुन्।
त्यसैगरी सङ्गीततर्फको छिन्नलता किरण कँडेललाई प्रदान गरिएको छ भने गायनतर्फको पुरस्कार बिमला राईलाई प्रदान गरिएको छ।
साथै युवा प्रतिभातर्फको छिन्नलता पुरस्कार गायिका सारिका घिमिरेलाई प्रदान गरिएको छ। त्यस्तै छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान गरेको थियो।
पुरस्कार वितरण कार्यक्रममा सभामुख अर्यालले सर्जक, रचनाकार र स्रष्टाहरूको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गर्ने वातावरण बनाउनु राज्य र समाज दुवैको साझा दायित्व भएको बताए।
नयाँ पुस्तामा नेपाली भाषा, मौलिक संस्कृति, संगीत र सिर्जनाप्रति रुचि जगाउनु आजको मुख्य आवश्यकता रहेको उनको भनाइ छ। सभामुख अर्यालले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक संसदीय समितिमा दफाबार छलफलको क्रममा रहेको भन्दै यस विधयेकमा नेपालका विभिन्न जाति, भाषा, धर्म र समुदायका मौलिक परम्परा, ज्ञान, सीप, कला र सांस्कृतिक अभिव्यक्तिको संरक्षण, अभिलेखीकरण र प्रवर्धन गर्ने विषय उल्लेख गरिएको जानकारी दिए।
सांस्कृतिक सम्पदाको गैरकानुनी वा उल्लंघनकारी प्रयोग रोक्न कानुनी कारबाही र दण्ड सजायको व्यवस्था समेत विधेयकमा उल्लेख रहेको उनको भनाइ छ।
सभामुख अर्यालले विधेयकले लोपोन्मुख सम्पदाको संरक्षण, युनेस्को सूचीकरणको आधार निर्माण, सांस्कृतिक पर्यटन, सिर्जनात्मक उद्योग र रोजगारी प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको धारणा राखे।


