पश्चिम एसियामा द्वन्द्वको असर : विश्व बजारमा तेलको मूल्य आकासियो

हिमाल प्रेस ८ साउन २०८३ ९:१९ | Friday, July 24, 2026
6
SHARES
पश्चिम एसियामा द्वन्द्वको असर : विश्व बजारमा तेलको मूल्य आकासियो

पश्चिम एसियामा चर्किंदो द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढेपछि कच्चा तेलको मूल्य वैशाखयता पहिलोपटक प्रतिव्यारेल १०० अमेरिकी डलर पुगेको छ।

विश्व बजारमा तेलको प्रमुख मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्य बिहीबार ६ प्रतिशतभन्दा बढीले बढेको हो। अमेरिका (यूएस) ले इरानविरुद्ध सैन्य आक्रमण तीव्र बनाएपछि पछिल्ला केही दिनदेखि तेलको मूल्य निरन्तर उकालो लागिरहेको छ।

यमनस्थित हुथी विद्रोही समूहले लाल सागरमा तेल बोकेका ट्यांकरहरूमा आक्रमण गरेपछि मूल्यमा थप उछाल आएको हो। उक्त मार्ग साउदी अरेबियाले होर्मुज जलडमरूमध्यलाई विकल्पका रूपमा प्रयोग गर्दै आएको प्रमुख निर्यात मार्ग हो।

गत एक महिनामा प्राकृतिक ग्यासको मूल्य पनि निरन्तर बढेको छ। बेलायतको मानक ग्यास मूल्य हाल करिब १५० पेन्स प्रति थर्म पुगेको छ।

यसअघि अमेरिका र इरानबीच भएको अस्थायी युद्धविरामपछि तेलको मूल्य घट्दै गएको थियो। अमेरिका र इजरायलले गत माघमा इरानविरुद्ध सैन्य कारबाही सुरु गर्नुअघिकै स्तरमा मूल्य झरेको थियो।

तर,युद्धविराम टिक्न नसकेपछि फेरि तनाव बढेको छ। यसै साता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानका नेतृत्वकर्ता सम्झौता गर्न तयार नरहेको बताएका थिए।

महँगी बढ्ने जोखिम

पश्चिम एसियाको जारी द्वन्द्वले बेलायत, अमेरिका लगायत धेरै देशमा पुनः मुद्रास्फीति बढ्न सक्ने जोखिम बढाएको छ। कच्चा तेल महँगिँदा पेट्रोल र डिजेलको मूल्य सामान्यतया बढ्ने गर्छ।

यसको प्रत्यक्ष असर सवारी चालकमा पर्ने भए पनि ढुवानी लागत बढ्दा खाद्यान्नसहित अन्य उपभोग्य वस्तुको मूल्य पनि बढ्न सक्छ।

बेलायतमा जेठसम्मको एक वर्षमा मुद्रास्फीति २.६ प्रतिशतमा झरेको थियो। पेट्रोल र डिजेलको मूल्य घट्नु प्रमुख कारण थियो। अमेरिकामा पनि मुद्रास्फीति ३.५ प्रतिशतमा झरेको छ।

तर,पश्चिम एसियामा फेरि चर्किएको द्वन्द्वका कारण यो सुधार दीर्घकालीन हुन्छ कि हुँदैन भन्नेमा अन्योल कायम छ।

पेट्रोल-डिजेल फेरि महँगियो

बिहीबार सार्वजनिक तथ्यांकअनुसार बेलायतमा गत असारको सुरुदेखि पेट्रोलको मूल्य प्रतिलिटर ५ पेन्सले बढेर करिब १.५६ पाउन्ड पुगेको छ। आरएसीका अनुसार डिजेलको औसत मूल्य प्रतिलिटर १.७२ पाउन्ड पुगेको छ।

अमेरिकामा पनि मोटर चालकहरूको संस्था एएएका अनुसार औसत ग्यासोलिन मूल्य फेरि ४ डलर प्रतिग्यालोन नाघेको छ। एक महिनाअघि यो ३.९२ डलर थियो।

ब्याजदरमा पनि असर पर्ने सम्भावना

क्विल्टर चेभियटका लगानी प्रबन्धक जोनाथन रेमण्डका अनुसार महँगो इन्धन र ऊर्जाको असर सम्पूर्ण अर्थतन्त्रमा फैलिन सक्छ।

उनले भने,‘ऊर्जा महँगिँदा व्यवसायहरूको लागत बढ्छ र अन्ततः खाद्यान्न तथा अन्य वस्तुको मूल्य पनि बढ्न सक्छ। यसले मुद्रास्फीति नियन्त्रण गर्न संघर्षरत केन्द्रीय बैंकहरूका लागि थप चुनौती सिर्जना गर्छ।’

उनका अनुसार यदि ऊर्जा मूल्य लामो समयसम्म उच्च रह्यो भने केन्द्रीय बैंकहरू ब्याजदर लामो समयसम्म उच्च राख्न वा अझ बढाउन बाध्य हुन सक्छन्। त्यसको असर गृहकर्जा लिने तथा अन्य ऋणीहरूमा पर्नेछ।

बेलायत र अमेरिकाको केन्द्रीय बैंकको संकेत

बेलायतको बैंक अफ इंग्ल्यान्डले पछिल्ला चार बैठकमा ब्याजदर ३.७५ प्रतिशतमै कायम राखेको छ।

क्यापिटल इकोनोमिक्सका प्रमुख बेलायती अर्थशास्त्री पल डेल्सले बैंकले आगामी बैठकमा पनि ब्याजदर यथावत् राख्ने लगभग निश्चित रहेको बताए। ऊर्जा मूल्यमा कमी आए अर्को वर्ष ब्याजदर घट्न सक्ने अपेक्षा विश्लेषकहरूले गरेका छन्।

अमेरिकी फेडरल रिजर्भका नवनियुक्त अध्यक्ष केभिन वार्शले गत साता अमेरिकी संसदमा बोल्दै केन्द्रीय बैंकले लामो समयसम्म उच्च मुद्रास्फीति स्वीकार नगर्ने बताएका थिए।

राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्शका पूर्ववर्ती जेरोम पावेललाई ब्याजदर घटाउन दबाब दिएका थिए। ट्रम्पले अमेरिकी नागरिकका लागि ऋणको लागत कम गर्न ब्याजदर घटाउनुपर्ने अपेक्षा वार्शसमक्ष पनि गरेका छन्।

तर, वार्शको अध्यक्षतामा भएको पहिलो बैठकमा फेडले ब्याजदर ३.५ देखि ३.७५ प्रतिशतकै दायरामा कायम राख्यो। उनले पश्चिम एसियाको द्वन्द्वले मूल्यवृद्धिमा प्रभाव पारेको अवस्थामा पनि मूल्य स्थायित्व कायम गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।

प्रकाशित: ८ साउन २०८३ ९:१९ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast