नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि आर्थिक, सामाजिक र मानवीय विकासका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा उनले गणतन्त्रका उपलब्धिको रक्षार्थ प्रगतिशील शक्ति एकजुट हुनुपर्ने बताए।
संयोजक प्रचण्डले उत्पीडित वर्ग तथा समुदायले प्राप्त गरेका हकअधिकार र उपलब्धि रक्षा गर्नुपर्नेमा जोड दिए।
‘कम्युनिस्ट आन्दोलनलाई गोलबन्द गर्दै गणतन्त्रवादी शक्तिलाई एउटै मोर्चामा ल्याउन तथा राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर अघि बढिएको छ,’ उनले भने।
त्यस अवसरमा नेकपाका सहसंयोजक माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठ, बीपी कोइराला, मदन भण्डारी, तुलसीलाल अमात्य, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायत नेपालको वामलोकतान्त्रिक आन्दोलनका राष्ट्रिय व्यक्तित्वको सम्मान गर्नुपर्नेमा जोड दिए।

