काठमाडौँ- नेपाली कांग्रेस संस्थापनइतर पक्षले पार्टीको आन्तरिक एकताका लागि संस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन्।
बीपी स्मृति दिवसको अवसरमा काठमाडौँमा छुट्टै कार्यक्रमको आयोजना गर्र्दै संस्थापनइतर पक्षले पार्टी मिलाउने मुख्य जिम्मेवारी सभापति गगन थापाको भए पनि आन्तरिक एकताका लागि संस्थापन पक्ष गम्भीर नभएको बताएको हो।
साथै संस्थापनइतर पक्षले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको जानकारी गराएको छ। भेलामार्फत आफूहरुले आगामी रणनीति तय गर्ने कांग्रेस नेता प्रकाशमान सिंहले बताए। उनले विशेष महाधिवेशनको कारणले पार्टी बिभाजनको अवस्थामा रहेकोले १५ औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको उल्लेख गरे।
कार्यक्रममा कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र सम्मानजनक एकताको पहल हुन नसकेको बताए। उनले कांग्रेस स्थापनाकालदेखि पहिलोपटक प्रतिकूल अवस्थामा पुगेको भन्दै पार्टी मिलाउने जिम्मेवारी अहिलेको नेतृत्वको भएको बताए। खड्काले पार्टीको सिद्धान्तलाई तिलाञ्जली दिएर कसैसँग समर्पण गर्न नसकिने समेत स्पष्ट पारे।
त्यस्तै कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आफूहरुले एकताका लागि प्रयास गरिरहेको भन्दै आफूहरुका माग र सहमतिका आधारहरू स्वीकार नगरे नयाँ बाटो तय गर्न बाध्यता हुने स्पष्ट पारे। उनले पार्टी नेतृत्वमा हुनुपर्ने दूरदर्शिता र परिपक्वता सभापति थापामा नरहेको टिप्पणी गरे।
नेता डा. शेखर कोइरालाले कांग्रेस हुकुमी शासनको हिसाबले चलिरहेको भन्दै विनास्पष्टीकरण नेताहरुलाई कारबाही गर्ने कार्य स्वीकार्य नहुने धारणा राखे। पार्टीभित्र एकताको कुनै पहल नगर्दा हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सभापतिले नै लिनुपर्ने उनले बताए।
त्यस्तै अन्य नेताहरुले सभापति थापा पार्टी कब्जा गर्ने बाटोमा अघि बढेको भन्दै स्वीकार्य नहुने चेतावनी दिएका थिए। उनीहरुले मुलुक र लोकतन्त्र संकटमा परेको अवस्थामा पार्टीको आन्तरिक एकताका लागि गम्भीर हुन नेतृत्वलाइ सुझाव दिएका थिए।

