फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने भएको छ।
विभाजनको संघारमा पुगेको कांग्रेसको देउवा समूहले साउन ६ गते छुट्टै बीपी स्मृति दिवस मनाउने निर्णय गरेको हो।
देउवा समूहले आइतबार चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर बीपी स्मृति दिवसका अवसरमा छुट्टै कार्यक्रम मनाउने निर्णय भएको जानकारी दिएको छ।
पत्रकार सम्मेलनमा निवर्तमान प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले साउन ६ गते विभिन्न कार्यक्रमको आयोजना गरी बीपी स्मृति दिवस मनाउने जानकारी दिए।
उनले बीपी स्मृति दिवसको कार्यक्रम छुट्टै गर्न नेता प्रकाशमान सिंहको संयोजकत्वमा समिति बनाइएको बताए।
यस अवसरमा काठमाडौँको प्रज्ञा भवनमा विशेष विचार गोष्ठी आयोजना गर्ने तयारी यो समूहले गरेको छ।
यता कांग्रेस संस्थापन समूहले पार्टीका संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवसमा मनाइने विभिन्न कायृक्रमहरूको घोषणा गरेको छ।
संस्थापनले यस अवसरमा काठमाडौँ उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्ने निर्णय गरेको छ। ‘जलवायु जनचेतना जगाऔँ, जुटौँ’ नारासहित आयोजना हुने पाँच किलोमिटर लामो दौड ललितपुरको यूएन पार्कबाट प्रारम्भ हुनेछ।
त्यस्तै ‘जलवायु परिवर्तनको चुनौती : निराकरण कसरी’ शीर्षकमा विषयविज्ञहरूको सहभागितामा समूहगत छलफल आयोजना गर्ने निर्णय संस्थापनको छ।

