काठमाडौँ- प्रदेश सरकारबाट एमालेलाई बाहिर धकेल्ने कांग्रेसको रणनीति उल्टिने संकेत देखिएको छ। एमालेसँग सम्बन्धविच्छेद गरेर नयाँ सत्ता समीकरण खोजेको कांग्रेस आफैँ प्रतिपक्षमा पुग्ने जोखिममा पर्दा एमाले भने नेकपासँग मिलेर पुनः सत्तामा फर्किने गृहकार्यमा जुटेको छ।
कांग्रेस, एमाले र नेकपा केही दिनयता प्रदेश सरकार हेरफेर गर्दै नयाँ गठबन्धन बनाउने दौडधुपमा लागेका छन्। नेकपा एमालेको अडानबाट दिक्क बनेको नेपाली कांग्रेसले सत्ता सहयात्री फेर्न लागेको थियो। तर सहयात्री फेरेर सत्तामा रहनुको सट्टा कांग्रेस आफैँ प्रतिपक्षमा पुग्ने खतरा बढेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेतृत्वका मुख्यमन्त्रीहरूको अडानप्रति कांग्रेस असन्तुष्ट बनेको थियो। एमालेसँग सम्बन्धविच्छेद गर्ने उद्देश्यसहित कांग्रेसका मन्त्रीहरूले कर्णाली सरकार छाडेपछि राजनीति नयाँ मोडमा पुग्यो। कांग्रेस नेताहरूका अनुसार एमालेले आलोपालो सरकार चलाउन नमानेपछि कांग्रेस सत्ता छाड्न बाध्य भएको हो।
कांग्रेसले प्रदेश सरकारमा एमालेसँगको सहकार्य तोडेर अन्य दलसँग तालमेल गर्ने प्रयत्न गरेको थियो। दुई ठूला दलबिना सरकार नबन्ने स्थिति रहेको प्रदेश सरकारमा कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीको साथ खोजेको थियो।
पछिल्लो समय एमाले रणनीतिका कारण कांग्रेस अप्ठ्यारोमा परेको छ। जसरी कर्णालीमा कांग्रेसले सत्ता छाड्यो, त्यसरी नै एमालेले पनि प्रदेशको सत्ता छाड्दै छ। तर एमाले नेकपासँग मिलेर सत्ता बनाउने छलफलमा छ। यसैगरी नेकपाले पनि एमाले र कांग्रेस दुवैसँग समान रूपमा छलफल गरिरहेको छ। ‘दुवै दल हामीसँग छलफलमा छन्। अब कसरी अघि बढिन्छ हेर्दै जाऊँ’, नेकपा प्रवक्ता प्रकाश ज्वाला भन्छन्, ‘तीनै दल मिलेर सरकार बनाऊँ भन्नेमा पनि छौँ। ठोस कुरा आएको छैन।’
ज्वालाका अनुसार प्रदेशको सत्तालाई लिएर अहिले सबै दलसँग छलफल चलिरहेको छ। नेकपाले त एमाले–कांग्रेसलाई समान ढंगबाट छलफल चलाइरहेको छ। तर प्रदेशमा तीन ठूला दल (प्रदेशको हकमा एमाले, कांग्रेस, नेकपा) मिलेर सरकार बनाउन नहुने अडानमा कांग्रेस छ।
कांग्रेस सभापति गगन थापाले सार्वजनिक रूपमै विपक्षीबिनाको प्रदेश सरकार बनाउन नहुने बताएका छन्। त्यसका कारण अब तीन दलमध्ये एक दल बाहिर रहनुपर्नेछ। यही कारण पनि एमाले–नेकपा नजिकिएका छन्। मंगलबार बेलुका पनि प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। उनीहरूबीच प्रदेशको सत्ता समीकरणका विषयमा छलफल भएको थियो। पछिल्लो भेटघाटका कारण एमाले–नेकपा नजिक देखिएको नेताहरूको भनाइ छ।
हुन त यसअघि नेकपाभित्र प्रचण्ड कांग्रेससँग मिल्नुपर्ने पक्षमा थिए। तर नेकपाभित्रकै नेताहरूले विचार नमिल्ने दलसँग मिल्नुभन्दा एमालेसँग मिल्नुपर्ने सुझाव दिएका थिए। नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र नेता नारायणकाजी श्रेष्ठले वामपन्थी मिलानको कुरा उठाएपछि प्रचण्ड पनि ओलीसँग नजिकिएको नेताहरू बताउँछन्।
निर्णायक नेकपा
कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले संघीय सरकारमा तालमेल गर्दा प्रदेशमा पनि सोही गठबन्धनलाई निरन्तरता दिएका थिए। कोशी, कर्णाली र लुम्बिनी एमालेको भागमा पर्दा गण्डकी, सुदूरपश्चिम र बागमती कांग्रेसको भागमा परेको थियो। मधेश भने मधेश केन्द्रित दललाई दिने सहमति भयो। तर मधेशमा पनि समीकरण फेरिँदै अहिले कांग्रेसकै सरकार छ।
अन्य सरकार यथावस्थामा रहँदा नेकपाको सहभागिता कतै थिएन। अहिले कांग्रेसले सहकर्मी फेर्दै नेकपासँग नजिकिएपछि एमाले पनि नेकपातिरै ढल्किएको छ। यसैले अहिलेको समीकरणमा नेकपा निर्णायक देखिन्छ।
नेकपा प्रवक्ता ज्वाला आफूहरू दुवैतर्फका नेताहरूसँग सम्पर्कमा रहेको स्वीकार्छन्। नेताहरूका अनुसार मधेशबाहेकका प्रदेशमा सत्ता सहकार्यका लागि दुई कम्युनिस्ट दल नजिकिएका छन्। ‘अहिल्यै कसरी जाने भन्ने निश्चित छैन। तर हामी सत्ता छाडे पनि सत्ताविहीन बन्छौँ जस्तो लाग्दैन’, एमालेका एक नेताले भने। कांग्रेसले एमालेलाई प्रतिपक्षमा खुम्याउँदै नेकपासँग सहकार्य गर्ने तयारी गरे पनि विफल भएको छ।
अप्ठ्यारोमा कांग्रेस, सत्ताको खोजीमै एमाले
कांग्रेसले विशेषतः प्रदेशमा बजेटका विषयमा किचलो भएको भन्दै एमालेसँग सहकार्य तोड्न चाहेको थियो। सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाही नेतृत्वमा रहेको सरकारले हालसम्म पनि बजेट पास गर्न सकेको छैन। सरकारभित्रकै किचलोले मुख्यमन्त्री शाही बजेट पास गर्न असफल भए।
शाहले काठमाडौँ आएर एमाले नेताहरूसँग संवाद गर्दासमेत एमाले बजेट पास गर्न तयार भएन। यही कारण कांग्रेस सबै प्रदेशमा एमालेसँग सहकार्य तोड्ने क्रममा पुग्यो। फलस्वरूप कांग्रेसले कर्णालीबाट आफ्ना मन्त्री फिर्ता गराउँदै सहकार्य तोडेको सन्देश दियो। तर एमाले प्रतिपक्षमा धकेलिनुको सट्टा नेकपासँग नजिकियो। कांग्रेस प्रवक्ता देवराज चालिसे अबको प्रदेश राजनीति अन्योलमा पुगेको बताउँछन्।
‘अहिल्यै यसै हुन्छ भन्न सकिन्न। नेताहरूबीच संवाद निरन्तर चलिरहेको छ।’ कांग्रेसका अर्का एक नेता आफ्नै निर्णयले प्रदेश सरकारसमेत गुमाउने तरखरमा पुगेको बताउँछन्। ‘हामी जबरजस्ती सरकारमा जान्छौँ भन्न मिल्दैन। फेरि सभापतिज्यूले तीन दलकै तालमेल नगरौँ भन्नुभा’ छ। पक्कै हामी नै प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउँछ’, ती नेताले भने।
एमालेले पनि प्रदेश सरकार छाड्न थालेको छ। बुधबार बागमती सरकारबाट एमालेका छ मन्त्रीले राजीनामा दिएका छन्। ‘हामीले आजै सत्ता छाड्यौँ। बदलिँदो परिस्थितिअनुसार सरकार छाडेका हौँँ’, एमाले नेता भरत केसीले भने्, ‘तर अवस्थाअनुसार सत्ता बाहिर रहने वा भित्र जाने टुंगो हुन्छ। बहुमत नहुँदा हामी बाहिर रहन्छौँ भन्न सकिन्न।’ त्यसो त, एमाले नेताहरू नेकपासँग मिलेर सरकार बनाउने तयारीमा जुटेको बताउन थालेका छन्।
कोशी प्रदेशको सरकार देखाएर पनि एमाले सत्ताबाट नबाहिरिने रणनीतिमा छ। कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएमा प्रदेशसभा विघटनमा जाने त्रास दलहरूलाई छ। एमाले यही निहुँ देखाएर पनि कोशीको मुख्यमन्त्री नछाड्ने अडानमा छ। नेकपा पनि सत्ता सहकार्यका लागि सकारात्मक देखिएकाले एमाले सरकार जोगाउने रणनीतिमा छ।


