इतर समूहको छुट्टै कार्यक्रम, फुट्न लागेको हो कांग्रेस?

हिमाल प्रेस ६ साउन २०८३ १५:१३ | Wednesday, July 22, 2026
18
SHARES
इतर समूहको छुट्टै कार्यक्रम, फुट्न लागेको हो कांग्रेस?

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले बीपी स्मृति दिवसका अवसरमा छुट्टै कार्यक्रमको आयोजना गरेको छ। इतर समूहले काठमडौँको प्रज्ञा भवनमा  कार्यक्रमको आयोजना गरेको हो।

संस्थापन समूहले भने बुधबार बिहान जलवायु परिवर्तनप्रति जनचेतना उद्देश्यले ‘ग्रिन रन’ प्रतियोगिताको आयोजना गरेको थियो।

प्रज्ञा भवनमा आयोजित इतर समूहको कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, मोहन बस्नेतलगायतका नेताहरू उपस्थित छन्। छुट्टाछुट्टै बीपी स्मृति दिवस मनाउने दुवै समूहको निर्णयले कांग्रेस विभाजनको डिलमा पुगेको आकलन गरिएको छ।

साउन ३ गते निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको थियो। चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको इतर समूहको बैठकले पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा स्मृति दिवस आयोजना समिति गठन गरेको थियो। बैठकले साउनभित्र राष्ट्रिय भेला बोलाउने निर्णयसमेत गरेको थियो।

साउन महिनाभित्रै राष्ट्रिय भेला बोलाउने निर्णय भए पनि मिति तय भइसकेको सकेको थिएन। बीपी स्मृति दिवस कार्यक्रममार्फत राष्ट्रिय भेलाको मिति घोषणा गर्ने बताइएको छ। ‘नियमत कि विशेष’ महाधिवेशन भन्ने विवादले कांग्रेसलाई विभाजनको संघारमा पुर्‍याएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले अनौपचारिक संवादमा एकताका लागि सहमति जनाए पनि व्यवहारमा फरक ढंगले प्रस्तुत हुने गरेको आरोप इतर समूहको छ।

इतर समूहले एकताका लागि संस्थापनसमक्ष पाँचबुँदे प्रस्ताव अघि सारे पनि यी प्रस्तावहरूमा छलफल हुन सकेको छैन।

१४ औँ महाधिवेशन र विशेष महाधिवेशनका दुवै कार्यसमितिलाई मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, सभापतिको बहुमत रहने गरी कार्यसम्पदान समिति गठन गर्ने, पुनर्गठित कार्यसमितिको पहिलो बैठकबाटै १५ औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, क्रियाशील सदस्यताको विवाद समाधानका लागि यसअघि नै टुंगिएका सदस्यहरूलाई स्वतः सहभागी गराउने र अद्यावधिक प्रक्रियालाई नवीकरणको सर्त बनाउन नहुने इतर समूहले एकताका लागि सारेका प्रस्ताव हुन्।

प्रकाशित: ६ साउन २०८३ १५:१३ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast