बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पहिलो युरोपेली देश बन्यो फ्रान्स

हिमाल प्रेस ६ साउन २०८३ १२:२७ | Wednesday, July 22, 2026
12
SHARES
बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पहिलो युरोपेली देश बन्यो फ्रान्स एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौँ– फ्रान्सको संसद्ले मंगलबार साँझ ठूलो बहुमतले नयाँ कानुन पारित गर्दै १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। फ्रान्स यस्तो व्यवस्था लागू गर्ने पहिलो युरोपेली देश बनेको समाचार  एएफपीले प्रकाशित गरेको छ।

यो कानुन गर्मी बिदापछि सुरु हुने नयाँ शैक्षिक सत्रदेखि लागू हुनेछ। फ्रान्सले प्रतिबन्धलाई दुई चरणमा कार्यान्वयन गर्ने योजना बनाएको छ। नयाँ सामाजिक सञ्जाल खाता खोल्ने प्रयोगकर्ताका लागि नियम सेप्टेम्बर १ देखि लागू हुनेछ भने हाल सञ्चालनमा रहेका खातामा सन् २०२७ को सुरुदेखि लागू गरिनेछ। यसका लागि सामाजिक सञ्जाल प्लेटफर्महरूले प्रयोगकर्ताको उमेर प्रमाणीकरण प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ।

यो प्रतिबन्धलाई व्यवहारमा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा अझै विस्तृत कार्ययोजना तयार हुन बाँकी छ। फ्रान्सको योजनाप्रति युरोपेली आयोगले भने आपत्ति जनाएको छ। आयोगका अनुसार सदस्य राष्ट्रहरूले आआफ्नै नियम बनाए कानुनी अन्योल सिर्जना हुन सक्छ। साथै प्रविधि कम्पनीहरूका लागि नियम बनाउने अधिकार युरोपेली आयोगको कार्यक्षेत्रभित्र पर्छ।

स्पेन, ग्रिस र अस्ट्रियालगायतका अन्य युरोपेली संघ (ईयू) सदस्य राष्ट्रहरूले पनि नाबालिगका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विषयमा चासो देखाएका छन्। जर्मनीकी परिवारमन्त्री करिन प्रियनले जर्मनीमा यस्तै प्रतिबन्ध लागू गर्ने इच्छा व्यक्त गरेकी छन्। कुनै पनि सदस्य राष्ट्रले युरोपेली संघको समन्वयबिना यस्तो व्यवस्था सहज रूपमा लागू गर्न भने सक्दैन।

प्रकाशित: ६ साउन २०८३ १२:२७ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast