नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुन: प्राप्त गर्न सकिने

हिमाल प्रेस १ साउन २०८३ १९:१६ | Friday, July 17, 2026
30
SHARES
नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुन: प्राप्त गर्न सकिने

काठमाडौँ – सूचना तथा सञ्चार मन्त्रालयले नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गत अघि सारेको १० बुँदे सुधारात्मक कार्ययोजनाअनुसार नेपाल टेलिकमको हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ सिम अनलाइनमार्फत प्राप्त गर्न सकिने सेवा बिहीबारदेखि सञ्चालनमा आएको छ।

डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यअनुसार टेलिकमले उक्त सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए।

अब सेवाग्राहीले टेलिकमको विद्युतीय सेवा पोर्टलमार्फत आवश्यक विवरण भरेर हराएको वा बिग्रेको सिमको सट्टा नयाँ भौतिक वा विद्युतीय सिमका लागि आवेदन दिन सक्नेछन्।

आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा आफ्नो प्रतिनिधिमार्फत सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्रतिनिधिमार्फत सिम बुझ्ने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ।

सञ्चार मन्त्रालयले अघि सारेको सुधारात्मक कार्ययोजनामा नेपाल टेलिकमको सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण तथा डिजिटल सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको छ।

सोहीअनुसार कम्पनीले मोबाइल सेवा व्यवस्थापन, प्रशासनिक प्रक्रिया सरलीकरण र सेवाग्राही केन्द्रित सेवा विस्तारका कार्यक्रम अघि बढाएको जनाएको छ।

कार्ययोजनाअन्तर्गत एकपटक मात्रै ग्राहक विवरण दर्ता गर्ने व्यवस्था लागू गर्ने, विद्युतीय सिम वितरण, हराएको सिम पुनःप्राप्ति, गुनासो व्यवस्थापन तथा स्वामित्व हस्तान्तरणलगायत सेवालाई क्रमशः पूर्णरूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी गरिएको छ।

नेपाल टेलिकमका सबै कार्यालयमा एकल सेवा सहायता कक्ष स्थापना गर्ने, चौथो पुस्ताको मोबाइल सेवाको गुणस्तर सुधार गर्ने तथा डाटा सकिएपछि स्वतः मौज्दात रकम कट्ने व्यवस्था हटाउनेलगायतका सुधारका कार्यक्रम कार्ययोजनामा समावेश छन्।

प्रकाशित: १ साउन २०८३ १९:१६ | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast