काठमाडौँ– कागेश्वरी मनोहरा-९ खहरेस्थित पाणिनि विद्यालय परिवारको आयोजनामा ‘आठौँ पाणिनि छन्दसाँझ–२०८३’ सम्पन्न भएको छ। संस्कृतवाङ्मयको अमर विरासत एवं नेपाली साहित्यको शास्त्रीय छन्दपरम्परालाई संवर्द्धन गर्ने पवित्र उद्देश्यका साथ हरेक वर्ष राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पूर्वसन्ध्यामा यो कार्यक्रम आयोजना गरिँदै आएको छ। विगत आठ वर्षअघि सुरु भएको अक्षरशिल्पीहरूको यो यात्रा यस वर्ष आफ्नो आठौँ शृङ्खलामा आइपुगेको हो।
सायङ्कालीन समयमा आयोजित सो विशेष समारोहमा विद्यालयका प्राचार्य एवं कार्यक्रमका सभाध्यक्ष प्रकाशचन्द्र खड्काको अध्यक्षता रहेको थियो भने सनातन वैदिक धर्मका संरक्षक, देववाणी संस्कृतका अनन्य साधक, प्रविधिमैत्री संस्कृतशिक्षाका संवाहक परमहंस परिव्राजकाचार्य यतीश श्री १००८ डा. स्वामी केशवानन्द गिरिजी महाराज प्रमुख अतिथिका रूपमा विराजमान थिए।
त्यसैगरी विशिष्ट अतिथिका रूपमा नेपाली भाषा र साहित्यको श्रीवृद्धिका निरन्तर साधक प्रा. डा. देवी नेपाल र सत्य, न्याय एवं सामाजिक उत्तरदायित्वप्रति समर्पित वरिष्ठ पत्रकार टीकाराम यात्री उपस्थित थिए।
समारोहमा अभिभावकीय भूमिकामा धार्मिक अभियन्ता ईश्वरकृष्ण महाराज एवम् आयोजकीय भूमिकामा विद्यालयकी निर्देशिका रक्षा गौतम, उपप्रधानाचार्य राजीव खड्का, विद्यालय परिवारका साथै ठुलो सङ्ख्यामा आमन्त्रित अभिभावकहरूको उपस्थिति थियो।
छन्दकविताको साङ्गीतिक वाचनयुक्त सो समारोहको प्रारम्भ कक्षा ४ का विद्यार्थी आयान दाहाल, विभान दाहाल, युक्तिप्रभा रेग्मी र विधाता जमकट्टेलको दिव्य मन्त्रोच्चारण तथा कक्षा ८ का विद्यार्थी दिव्यांश चापागाईं र विश्वास फायलको मङ्गलमय शङ्खध्वनिका साथ भएको थियो। तत्पश्चात् मञ्चासीन प्रमुख अतिथिज्यूको करकमलबाट द्वीपप्रज्ज्वलन गरी कार्यक्रमको विधिवत् समुद्घाटन गरियो।
समुद्घाटनलगत्तै राष्ट्रगानपछि कक्षा ४ र ५ का विद्यार्थीहरू आरवी पौडेल, सान्वी जोशी, सान्भी ओली, स्मिथ तामाङ, ईशु आचार्य, एरिज फुयाँल, सुदीक्षा हमाल, अर्चिता काफ्ले, युभेन बुढाथोकी र प्रन्शु खड्काले पाणिनिगीत प्रस्तुत गरेका थिए। कार्यक्रममा स्वागतको क्रमलाई अघि बढाउँदै कक्षा ३ ‘भूमि’ का सम्पूर्ण छात्रछात्राले गोमा रेग्मीद्वारा लिखित स्रग्विणी छन्दको स्वागतगीत गाएका थिए भने कक्षा ३ र ४ का छात्रछात्रा इलियाना बस्नेत, सायसा दाहाल, सिराज विक्रम खड्का, अर्चिता काफ्ले र आँचल कार्कीले आकर्षक स्वागतनृत्य प्रस्तुत गरेर माहोल थप मनमोहक बनाएका थिए।

समारोहमा स्वागतभाषण गर्दै संस्कृतका अभियन्ता एवं पाणिनि छन्दसाँझका संयोजक रोहिणीराज तिमिल्सिनाले काव्य र संस्कृतिको महत्त्वमाथि प्रकाश पारे। उनले प्रमुख अतिथि स्वामी केशवानन्द गिरिजी महाराजको प्रविधिमैत्री संस्कृतशिक्षा र सुसाङ्ख्यीय यान्त्रिकीकरणको योगदानको स्मरण गर्दै उनको सान्निध्यले प्राङ्गण आध्यात्मिक र वैचारिक उत्कर्षले आलोकित भएको बताए।
साथै विशिष्ट अतिथि प्रा. डा. देवी नेपालको समालोचकीय दृष्टि र पत्रकार टीकाराम यात्रीको साहित्यिक प्रेमको प्रशंसा गर्दै विशेष आकर्षणका रूपमा रहेकी शास्त्रीय सङ्गीतकी बाल अध्येत्री आँचल बस्याल तथा समस्त अभिभावक र विद्यार्थीप्रति स्वागत गरे।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको साङ्गीतिक काव्यिक प्रस्तुतिअन्तर्गत कक्षा ४ ‘ऋग्वेद’का विद्यार्थीहरूले आद्याचार्य शङ्कराचार्यकृत ‘गणेशपञ्चरत्नम्’ स्तोत्र पञ्चचामर छन्दमा प्रस्तुत गरेका थिए।
यसैगरी योग गुरुआमा आशा कार्कीले उपस्थित सबैलाई योगाभ्यास गराउँदै स्फूर्ति प्रदान गरिन्। त्यसपछि कक्षा १ ‘नाद’का सम्पूर्ण छात्रछात्राहरूले तोटक छन्दमा ‘सरस्वतीस्तोत्रम्’को सुमधुर वाचन गरे। उपजाति छन्दमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कविता ‘पुतली’लाई कक्षा २ का सम्पूर्ण छात्राहरूले प्रस्तुत गरेका थिए।
कक्षा ३ ‘नव’का छात्रछात्राहरूले भुजङ्गप्रयात छन्दमा रहेको गोस्वामितुलसीदासकृत ‘श्रीरुद्राष्टकम्’ वाचन गर्दा समारोह पूर्ण रूपमा आध्यात्मिक रसमा डुबेको थियो। त्यस्तै कक्षा ६ का विद्यार्थीहरू सनैता चापागाईं, ब्लेस तामाङ, मानुषी अधिकारी, दिव्या खनाल, रेनिसा खड्का, साम्राज्ञी जमकट्टेल, समृद्धि खकुरेल, दित्या शर्मा फुयाँल, मातङ्गी रेग्मी, सेम्साङ तामाङ, अश्लेषा चन्द र शिवांश दुलालले टीका आत्रेयको पञ्चचामर छन्दमा लिखित ‘सङ्कल्प’ कविता वाचन गरे।
कक्षा २ का विद्यार्थीले आदिकवि भानुभक्त आचार्यको उपजाति छन्दमा लिखित ‘प्रश्नोत्तरी माला’ प्रस्तुत गरेपछि विद्यालयका प्राचार्यबाट उद्बोधन भएको थियो।
मन्तव्य राख्दै सभाध्यक्ष प्राचार्य प्रकाशचन्द्र खड्काले भने, ‘हामीले संस्कृतको शास्त्रीय छन्दशिक्षण तथा नेपाली भाषासाहित्यको अध्ययनमा गौरव गर्ने खालको जनशक्ति तयार गर्नका लागि छन्दसाँझजस्तो कार्यक्रम आयोजना गरेका हौँ। यसले नयाँ पुस्तामा आफ्नो भाषा, माटो र संस्कृतिप्रति प्रगाढ प्रेम जगाएको हामीले महसुस गरेका छौँ।’
तत्पश्चात् कक्षा १ ‘दीप्त’ का विद्यार्थीले मात्रिक छन्दमा शङ्कराचार्यकै ‘चर्पटपञ्जरिकास्तोत्रम्’को गान गरे। समारोहमा आधुनिक नेपाली कविताका विशिष्ट रचनाहरूको समेत उत्कृष्ट प्रस्तुति देख्न पाइयो।
यसपछि विशिष्ट अतिथि वरिष्ठ पत्रकार टीकाराम यात्रीको सम्मान गरिएको थियो भने उपप्रा गोविन्द घिमिरेले सम्मानपत्र वाचन गरेका थिए।
कक्षा ९ का विद्यार्थी आरम्भ विक्रम थापा, आशिष्मा भट्टराई, अनमोल प्रसाईं, निमी तामाङ, प्रवेशकुमार खत्री, प्रीति महतो, रोशिका भण्डारी, सुवेशन कटुवाल र उज्ज्वल बस्नेतले भरतराज पन्तको शिखरिणी छन्दमा ‘मेघ बिजुली विवाह’ कविता प्रस्तुत गरे। गोमा रेग्मीको सवाई छन्दको ‘स्वदेश नेपाल’ कविता वाचनतर्फ कक्षा ५ ‘अथर्ववेद’ का सान्भी ओली, स्मिथ तामाङ, ईशु आचार्य, एरिज फुयाँल, उत्सर्ग कुँवर, प्रणव सापकोटा र सुशान लामाले प्रस्तुति दिएका थिए भने नृत्यतर्फ कक्षा ४ देखि ९ सम्मका विद्यार्थी आर्शिया शर्मा, श्रीना पाख्रिन, दिव्यांशी पोखरेल, रेनिशा खड्का, दित्या शर्मा फुयाँल, सेम्साङ तामाङ, अनुप गौतम, सौरभी पोखरेल, प्रीतिका मैनाली, जोया श्रेष्ठ, प्रिन्सा बस्नेत, साम्भवी कँडेल, रेनिशा दाहाल, सायु सिङ्केमन, प्रनिशा र श्रीजिता गिरीले नृत्य प्रस्तुत गरेका थिए।
काव्यप्रवाहलाई निरन्तरता दिँदै कक्षा ५ ‘यजुर्वेद’का विद्यार्थीहरू आरवी शर्मा, हार्दिक पौडेल, रायन कार्की, विधि भट्टराई, अबुषा बुढाथोकी, उच्चश्री पौडेल, अबिशन अधिकारी र आरोहण सापकोटाले स्रग्धरा छन्दमा रहेको प्रा. डा. देवी नेपालको ‘भाषा–गौरव’ कविता प्रस्तुत गरे। कक्षा ४ का छात्रछात्राहरूले मनोज भण्डारीको ‘प्यारो छ नेपाल यो’ कविता शार्दूलविक्रीडित छन्दमा वाचन गरे। त्यसपछि अतिथि कलाकार आँचल बस्यालले आफ्नो विशेष प्रस्तुति राखिन्। कार्यक्रमको एउटा विशिष्ट अङ्गका रूपमा अभिनयात्मक रामायणवाचन प्रस्तुत गरिएको थियो, जसमा वाचनतर्फ कक्षा ४ का छात्रछात्राहरू ईशा भण्डारी, सिर्जु भुर्तेल, युक्तिप्रभा रेग्मी, युनिशा कार्की, रायना कार्की, आयान दाहाल, प्रन्शु खड्का, युभेन बुढाथोकी र विभान दाहाल रहेका थिए भने अभिनयतर्फ श्रीना पाख्रिन, अर्चिता काफ्ले, गाभ्या सिंह नगरकोटी, साम्राज्ञी जमकट्टेल, रेनिशा खड्का, समृद्धि खकुरेल, विधाता जमकट्टेल, सुदिक्षा हमाल, रिओन बस्नेत, सत्यम भट्टराई, ब्लेस तामाङ, आहना श्रेष्ठ, प्रज्ज्वल पौडेल र आर्शिया शर्माले जीवन्त अभिनय गरेका थिए।

कक्षा ७ का छात्रछात्रा अभिमन्यु घिमिरे, परीक्षित आचार्य, विष्णु भण्डारी, अनुप गौतम, प्रीतिका मैनाली, सौरवी पोखरेल र संस्कृति लामिछानेले चर्चरी छन्दमा लिखित युवा कवि गौतम मनीषको ‘शिवतत्त्व’ कविता प्रस्तुत गरे। कविशिरोमणि लेखनाथ पौड्यालको कालजयी रचना ‘काल–महिमा’लाई कक्षा १० का छात्रहरू प्रनिल खड्का, अबिन खड्का, ईशान लामा, राज श्रेष्ठ, सुमित गौतम, भोलानाथ घिमिरे, सुशान्त तिवारी र सुवर्ण नेपालले शार्दूलविक्रीडित छन्दमा वाचन गरेर दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।
त्यसलगत्तै अर्का विशिष्ट अतिथि प्रा. डा. देवी नेपाललाई समारोहमा सम्मान गरिएको थियो। युवा कवि गौतम मनीषले सम्मानपत्र वाचन गरेपछि डा. नेपालले आफ्नो मन्तव्य राखे।
कार्यक्रमको अन्तिम चरणतिर कक्षा ८ का विद्यार्थीहरू अर्पण पोखरेल, हर्षित थापा, रोहन दाहाल, आरभ बिष्ट, विश्वास फायल, अञ्जल आचार्य, सार्थक जङ कार्की, जोया श्रेष्ठ, आरोही सापकोटा, प्रिन्सा बस्नेत, कविता चौहान, एभा कटुवाल, प्रसुमी शर्मा र आर्य पौडेलले मन्दाक्रान्ता छन्दमा रचित राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘काली गण्डकी’ कविता प्रस्तुत गरे। अन्तमा कक्षा १० का छात्राहरू मानवी बडुवाल, विजया चौलागाईं, अनुषा घिमिरे, परिक्रमा ढकाल र सृष्टि भारतीले रामप्रसाद ज्ञवालीको अनुष्टुप् छन्दमा रहेको ‘उज्यालो यात्रा’ कविता वाचन गरेसँगै प्रमुख अतिथिको सम्मान एवम् उहाँबाट आशीर्वचनसँगै समापन कवितामार्फत कार्यक्रमको समापन गरिएको थियो।
प्रमुख अतिथि श्री १००८ डा. स्वामी केशवानन्द गिरिजी महाराजलाई कार्यक्रममा विद्यालयका प्राचार्यलगायत विद्यालय-परिवारले सम्मान गरेको थियो भने संस्कृतविद् रोहिणीराज तिमिल्सिनाले संस्कृतमा लेखिएको सम्मानपत्र वाचन गर्नुभएको थियो। महाराजले आफ्नो अनुभव साट्दै भने- ‘म लगभग हजार दुई हजारभन्दा बढी विद्यालयमा संस्कारशिक्षा सिकाउन गएको छु। आउनुपर्ने रहेछ पाणिनिमा, अर्कै अर्कै विद्यालयमा गएछु कि क्या हो? हुन त यहाँ नआएकै ठिक छ, यहाँ विद्यार्थीहरू विद्यालयकै व्यवस्थापनमा उत्कृष्ट संस्कारशिक्षा सिकिरहेकै रहेछन्।’
कार्यक्रमको प्राविधिक तथा कलात्मक पाटो पनि उत्तिकै सबल थियो। साङ्गीतिक छन्दकविताको वाचनयुक्त सो कार्यक्रमको वाद्यवादक-समूहको कुशलतापूर्वक नेतृत्व पाणिनिकै सङ्गीत-शिक्षक एवं बालकवि श्रीजय शाक्यले गरेका थिए भने सम्पूर्ण कार्यक्रमको चुस्त उद्घोषण विद्यालयकै देवनागरी विभागकी सदस्य शिक्षिका गोमा रेग्मीले गर्नुभएको थियो। सङ्गीतको शास्त्रीय ताल र धुनको सम्मिश्रणमा विद्यार्थीहरूले गरेको छन्दकविताको सामूहिक प्रस्तुति अत्यन्तै मनमोहक, व्यवस्थित र कर्णप्रिय रहेको उपस्थित दर्शक एवं अभिभावकहरूले बताए। यो कार्यक्रमले नेपाली सिर्जना र संस्कृतवाङ्मयको संरक्षणमा एउटा इँटा थपेको निष्कर्ष उहाँहरूको रहेको थियो।


