चितवन- माडी नगरपालिकाले सामुदायिक विद्यालयका लागि प्रधानाध्यापक पदपूर्तिका उद्देश्यले आवेदन आह्वान गरेको छ।
नगरपालिकाले बुधबार जारी गरेको सूचनाअनुसार शिक्षा नियमावली दशौँ संशोधन २०८३ अनुसार नगरपालिकाभित्र रहेका १३ वटा सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि योग्य स्थायी शिक्षकबाट दरखास्त मागिएको हो।
सूचनाअनुसार माध्यमिक तहका ८ वटा र आधारभूत तहका ५ वटा विद्यालयमा गरी कुल १३ जना प्रधानाध्यापक नियुक्त गरिनेछ। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित माडी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन पेस गर्नुपर्नेछ।
आवेदनका लागि नेपाल सरकारबाट स्थायी नियुक्ति प्राप्त गरी सामुदायिक विद्यालयमा कार्यरत शिक्षक हुनुपर्ने व्यवस्था गरिएको छ।
माध्यमिक तहका विद्यालयका लागि स्नातकोत्तर तथा आधारभूत तहका विद्यालयका लागि स्नातक तह उत्तीर्ण गरी सम्बन्धित तहमा आवश्यक सेवा अवधि पूरा गरेको हुनुपर्ने योग्यता तोकिएको छ।
आवेदनसँग उम्मेदवारको निवेदन, नागरिकताको प्रतिलिपि, स्थायी शिक्षक नियुक्तिपत्र, शैक्षिक योग्यताका प्रमाणपत्र र विद्यालय विकास प्रस्तावसमेत पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
नगरपालिकाका अनुसार नियुक्त प्रधानाध्यापकको कार्यकाल पाँच वर्षको हुनेछ। नियुक्त भएका प्रधानाध्यापकले हाल कार्यरत विद्यालयबाट सरुवा भई छनोट भएको विद्यालयमा जिम्मेवारी सम्हाल्नेछन्।


