विपद् सम्बन्धी पूर्वसूचना प्रवाह गर्न टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता

हिमाल प्रेस ३१ असार २०८३ २०:३० | Wednesday, July 15, 2026
16
SHARES
विपद् सम्बन्धी पूर्वसूचना प्रवाह गर्न टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता

काठमाडौँ- नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच देशभर जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्न सम्झौता भएको छ।

सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा.अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यक्रममा दुवै संस्थाका प्रमुखहरुले विगतदेखि नै प्रभावकारी रुपमा सञ्चालन भइरहेको यो सहकार्यलाई आगामी दिनमा थप परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

सम्झौताअनुसार देशभरका विभिन्न जोखिमयुक्त स्थानमा रहेका टेलिकमका सक्रिय ग्राहकहरुलाई विपद्सम्बन्धी पूर्वसूचना ११५५ सर्टकोड प्रयोग गरी एसएमएसमार्फत पठाइनेछ।

यो सेवाअन्तर्गत ग्राहकले वर्षा, बाढी, आकस्मिक बाढी, पहिरो, हावाहुरी, चट्याङ, डढेलो, हिमपहिरो, हिमपात, हिमआँधी, हिमताल विस्फोट, तातो हावाको लहर (लू), शितलहर, धुम्रपातलगायतका बारे पूर्वसूचना निःशुल्क प्राप्त गर्नेछन्।

विपद्सम्बन्धी सूचनालाई लक्षित क्षेत्रसम्म सटिक रुपमा पुर्‍याउन जल तथा मौसम विज्ञान विभागले टेलिकमलाई विभिन्न नदीय तटीय तथा जोखिमयुक्त क्षेत्रहरुको विशेष भौगोलिक नक्सा उपलब्ध गराउने टेलिकमका प्रवक्ता डा.कमल लामिछानेले जानकारी दिए।

लामिछानेका अनुसार टेलिकमले यो सेवा विगत २०७३ सालदेखि नै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ।

विपद्को पूर्वसूचना प्रणालीलाई चुस्त बनाउन टेलिकमले यसअघि विभागलाई सात सय सिम निःशुल्क उपलब्ध गराउँदै आएकोमा अब थप सयवटा गरी कुल साठ सयवटा डाटासहितको सिम निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ।

प्रकाशित: ३१ असार २०८३ २०:३० | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast