सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री बर्खास्त

हिमाल प्रेस ३१ असार २०८३ १५:४९ | Wednesday, July 15, 2026
12
SHARES
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री बर्खास्त

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सरकारमा प्रतिनिधित्व गरेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरेका छन्।

मुख्यमन्त्री शाहले सरकारमा रहेर आर्थिक वर्ष २०८३/८४ को बजेटमा एमालेले असहयोग गरेको भन्दै बुधबार उक्त दलबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई पदमुक्त गरेका हुन्।

मुख्यमन्त्री शाहका जनसम्पर्क तथा प्रेस सल्लाहकार डम्बर बलका अनुसार मुख्यमन्त्रीले एमालेका मन्त्रीहरूलाई बोलाएर बजेटबारे उनीहरुको पार्टीको धारणाबारे जिज्ञासा राखेका थिए।

गत असार १ गते प्रस्तुत बजेटप्रति सत्ता साझेदार एमालेले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएको थियो। एमालेका सांसदहरूले प्रदेशसभामा बजेटविरुद्ध खर्च कटौती प्रस्तावसमेत दर्ता गरेका थिए।

कांग्रेस नेतृत्वको सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सुरेन्द्रबहादुर पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा हिरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मलादेवी साउद सहभागी थिए।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजारको बजेट विनियोजन गरेको छ।

सत्तासाझेदार दलले नै विरोध गरेपछि २२ दिनसम्म बजेट प्रदेशसभामा पेस हुन सकेको थिएन। यही असार २३ गते प्रदेशसभामा बजेट टेबल भए पनि सामान्य छलफलबाहेक अन्य प्रक्रिया अघि बढेको छैन।

बिहीबारसम्म बजेट पारित गरिसक्नुपर्ने वैधानिक प्रावधान छ।

प्रकाशित: ३१ असार २०८३ १५:४९ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast