काठमाडौँ- बेल्जियमको ब्रसेल्सस्थित नेपाली दूतावासले नेपाली विद्यार्थीहरुसँग संवाद गरेको छ। बेल्जियममा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग दूतावासले संवाद गरेको हो।
दूतावासले ‘बेल्जियममा नेपाली एकेडेमिकस : अवसर, चुनौती र भावी बाटो’ शीर्षकमा छलफल तथा संवाद कार्यक्रम आयोजना गरिएको जनाएको छ।
नेपाल हाउसमा आयोजित कार्यक्रममा बेल्जियमका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी तथा शोधकर्ताहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा केयू लुभेन घेन्ट युनिभर्सिटी, यूबीआई बिजनेस स्कुल, एन्टवर्प युनिभर्सिटीलगायतका संस्थाहरुबा विद्यार्थी सहभागी भएको दूतावासले जनाएको छ।
दूतवासाले जनाएअनुसार विद्यार्थीहरुलाई शैक्षिक अनुभव साटासाट गर्न, सामना गरिरहेका चुनौतीबारे छलफल गर्न, सहकार्य, नेटवर्किङ र भावी शैक्षिक संलग्तनाका लागि अवसर खोज्ने प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदूत सीवा लम्सालले विद्यार्थीहरुको शैक्षिक गतिविधि, उपलब्धि, अवसर र चुनौतीबारे जानकारी लिएकी थिइन्।
कार्यक्रममा बेल्जियममा छात्रवृत्ति तथा फेलोसिफ कसरी प्राप्त गर्ने, भिसा प्रक्रिया, आवास, एकीकरण चुनौती, रोजागरीका समस्यालगायतका विषयमा छलफल भएको छ।
राजदूत लम्सालले शैक्षिक समुदायसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।



