काठमाडौँ- वर्षाको मौसम भएपनि यसपटक फिल्म रिलिज हुने क्रम प्रतिस्पर्धामा चलिरहेको छ। हलबाट अपेक्षाकृत कमाइ नभएपनि प्रदर्शनमा भने भीड लागेको छ। आगामी साउनमा मात्रै ४ फिल्म लाग्दैछन्। यस अवधिमा ‘गौँथली’,‘लज्जावती’, ‘हली’ र ‘कमला मिस’ दर्शकमाझ आउँदैछन्।
हालसम्मको प्रदर्शन तालिकाअनुसार ‘गौँथली’ साउन १ गते, साउन १५ गते तथा ‘हली’ र ‘कमला मिस’ साउन २२ गते एकै दिन प्रदर्शनमा आउनेछन्। साउन २९ गतेदेखि सिनेमा ‘लज्जावती’ पनि प्रदर्शनमा आउँदैछ। ‘गौँथली’ ले शिक्षाको अवसर प्राप्त गर्न संघर्षरत एक युवती र वैवाहिक जीवनमा उसले भोग्नुपरेका अप्रत्याशित परिस्थितिलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। डा. कपिल रिजाल निर्देशित यो फिल्म दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेको चर्चित ‘गौँथली’ को नामबाट प्रेरित भए पनि नयाँ कथा र समकालीन शैलीमा निर्माण गरिएको हो।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल र सन्जोग रसाइलीलगायत कलाकारको अभिनय रहेको छ। साउन २२ मा एकै दिन प्रदर्शनमा आउन लागेका ‘हली’ र ‘कमला मिस’ ले पनि फरक स्वादका कथा प्रस्तुत गरेका छन्।
‘कमला मिस’ विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित मनोवैज्ञानिक कथामा आधारित छ। रहस्य, मानसिक द्वन्द्व र मानवीय संवेदनालाई केन्द्रमा राखिएको यो फिल्ममार्फत निर्देशक नीर शाह करिब एक दशकपछि निर्देशनमा फर्किएका हुन्। फिल्ममा नीर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री र आरभ दाहाललगायत कलाकारको अभिनय रहेको छ।
‘हली’ भने सामाजिक परिवर्तनको सन्देश बोकेको कथा हो। वास्तविक घटनाबाट प्रेरित यस फिल्मले एउटा साधारण हलीको साहस, इमानदारी र संघर्षले समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश दिन खोजेको छ। ओम प्रतीक निर्देशित फिल्ममा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की र अर्जुन गुरुङ मुख्य भूमिकामा छन्। साथै दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मा विशेष भूमिकामा देखिनेछन्।
साउन २९ गतेदेखि सिनेमा ‘लज्जावती’ पनि प्रदर्शनमा आउँदै छ। आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको सिनेमाका लेखक तथा निर्देशक राजबहादुर साने हुन्। सिनेमामा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा, विनोद श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।



