नेपाली कांग्रेसका सभापति गगन थापा/फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य असहिष्णु बनेको आरोप लगाएका छन्।
कीर्तिपुर होल्डिङ सेन्टरमा सुकुम्वासीको अवस्था बुझ्न गएका जेनजी अभियन्ताहरू माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायतलाई प्रहरीले पक्राउ गरेपछि उनले यस्तो बताएका हुन्।
सभापति थापाले राज्यसँग जवाफ माग्न पुगेका युवाहरूलाई निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र निन्दनीय रहेको बताएका छन्।
‘करुणाविहीन तथ छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?!,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्सिग अधिकार रहेको भन्दै थापाले उत्तर गिरफ्तारी, लाठी वा दमन हुन नसक्ने जिकिर गरेका छन्। फरक मत र आलोचना सुन्ने छाती राख्ने सरकार बलियो र विधिको हिमायती हुने उनको भनाइ छ।
‘सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाति राख्छ। आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो,’ उनले भनेका छन्।
सभापति थापाले फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी नभएर सत्ताको चरम कायरता रहेको उल्लेख गरेका छन्।
‘फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो! गिरफ्तार गरिएका सम्पूर्ण युवाहरुलाई अविलम्ब निशर्त रिहा गरियोस्,’ उनले भनेका छन्।



